
काठमाडौं, ७ जेठ– इण्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनको अन्तिम लिग खेलमा चेन्नई सुपर किंग्सले किंग्स इलाभेन पञ्जावलाई ५ विकेटले हराएको छ ।
पुणेमा आइतबार बेलुका भएको खेलमा हारेपछि पञ्जावको प्ले अफमा पुग्ने सम्भावना सकियो । जितसँगै राजस्थान रोयल्सले स्थान पक्का गर्न सफल भयो ।
पञ्जावले प्रस्तुत गरेको १५४ रनको लक्ष्य चेन्नईले १९ ओभर १ बलमा पाँच विकेटको क्षतिमा भेट्टायो । उसका लागि सुरेश रैनाले नटआउट ६१, डिएल चाहरले ३९, हरभजन सिंहले १९ तथा कप्तान महेन्द्र सिंह धोनीले नटआउट १६ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जावले १९ ओभर चार बलमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो । उसका लागि कके नायरले ५४, मनोज तिवारीले ३५ तथा डेविड मिलरले २४ रनको योगदान दिए ।
यो खेलसँगै प्ले अफमा स्थान बनाउने चार शीर्ष टिमको पनि टुंगो लाग्यो । आईपीएलको ११ औँ संस्करणमा प्ले अफमा स्थान बनाउने टिममा सनराइजर्स हैदरावाद, चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स रहेका छन् ।
शुरुका तीन टिमको नाम शनिबार नै तय भएको थियो । तर चौथो टिमका लागि राजस्थान रोयल्स, मुम्बई इन्डियन्स र किंग्स इलाभेन पञ्जावले संघर्ष गरिरहेका थिए ।