२३ जेठ २०८३, शनिबार

मुख्य समाचार : नीति तथा कार्यक्रम निबन्धजस्तो भएको प्रतिपक्षीको टिप्पणी, राष्ट्रकविको उपचार खर्च सरकारले व्यहोर्ने

मुख्य समाचार : नीति तथा कार्यक्रम निबन्धजस्तो भएको प्रतिपक्षीको टिप्पणी, राष्ट्रकविको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, ८ जेठ– सरकारले आगामी आर्थिक वर्षका लागि १०३ बुँदे नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेको छ । समृद्ध नेपाल र सुखी नेपालीको नारा अगाडि सार्दैै आर्थिक वर्ष २०७५÷०७६ समृद्धिको इतिहास रच्ने आधार वर्ष हुने सरकारले जनाएको छ ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबैका लागि समृद्धि सरकारको नीति हुने बताइन् । सोमबार अपराह्न बसेको बैठकमा राष्ट्रपति भण्डारीले जनताको सेवा, सुरक्षा, समृद्धि र सुखका लागि जनताले बनाएको वर्तमान सरकारबाट राष्ट्रले ठूलो अपेक्षा गरेको भन्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । 

सरकार लोकप्रियताका लागि काम गर्दैन, जनताको हितमा काम गरेर लोकप्रियता हासिल गर्नेछ नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिकको र ५ बर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरिने कार्यक्रममा उल्लेख छ । 

नेपाली बीचको आय असामनता कम गर्दै लैजाने र सबै नेपालीको अनिवार्य बैंक खाता खोल्ने नीति अख्तियार गरिने छ । भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक परे कानुनसमेत संशोधन गर्ने नीति सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आउँदो ५ वर्षभित्र कामका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने र व्यापक रुपमा आन्तरिक रोजगारी सृजना गर्न ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सञ्चालन गर्ने सरकारको योजना छ । यस्तै सरकारले सार्वजनिक सेवाको क्षेत्रमा व्याप्त सिन्डीकेट, मिलेमतो र कार्टेलिङ अन्त्य गर्न कठोर नीति लिने जनाएको छ । 

सरकारले विकास निर्माण, सुरक्षा, परराष्ट्र सम्बन्ध लगायतका विभिद पक्षमा सुधारका लागि विज्ञहरु सम्मिलित थिंक ट्यांकको गठन गरिने राष्ट्रपति भण्डारीले बताइन् । यस्तै अधिनायकवाद आउने प्रतिपक्षी नेपाली कांग्रेसको आरोपको पनि नीति तथा कार्यक्रममा खण्डन गरिएको छ । 

‘नीति तथा कार्यक्रम असल निबन्ध’
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको आगामी आव २०७५/७६ को नीति तथा कार्याक्रमलाई असल निबन्धको संज्ञा दिएको छ । राष्ट्र विद्यादेवी भण्डारीले संघीय संसद्मा सोमबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रमले स्पष्ट मार्गदिशा नदिएको र प्राथमकिता कार्यान्वयनको स्पष्ट खाका नदेखाएको प्रतिक्रिया दिए ।

उनले भने, “सरकारको नीति तथा कार्यक्रम असल निबन्धको रुपमा आएको छ ।” सोही पार्टीका नेता प्रदीप गिरीले नीति तथा कार्यक्रमले मुलुकको अहिलेको प्राथमिकता र आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताउँदै श्रम समस्या सम्बोधन गर्ने स्पष्ट खाका नभएको र  धेरै पृष्ठ र पुरानै शैलीको देखिएको टिप्पणी गरे ।

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले समग्रमा नीति तथा कार्यक्रमलाई आफूले सकारात्मक रुपमै ग्रहण गरे पनि दुई अंकको आर्थिक वृद्धिदर प्राप्त गर्ने आधार नदेखिएको धारणा व्यक्त गरे ।

नेकपा सचिवालय बैठकः बरियता खोसिएकोमा आपत्ति
नवगठिन नेपाल कम्युनिस्ट पार्टीमा बरियताको विषयलाई लिएर शीर्ष नेताले नै असन्तुष्टि जनाएका छन् । सोमबार बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले असन्तुष्टि जनाएका हुन् । 

बैठकमा वरिष्ठ नेता खनालले आफ्नो वरियता खोसिएकोमा आपत्ति जनाउदै निर्णय पुनर्विचार गर्न आग्रह गरे । बैठकले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

त्यसैगरी बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले पार्टी हेडक्वाटरको टुंगो लगाउने जिम्मा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई दिने निर्णय गरेको छ । 

पोखरीमा डुबेर रुपन्देहिमा एकै गाउँका चार बालिकाको मृत्यु
रुपन्देहीमा पोखरीमा डुवेर चार बालिकाको मृत्यु भएको छ । लुम्बिनी साँकृतिक नगरपालिका–११, मसिना–गडिदियास्थित नौखनिया पोखरीमा नुहाउनेक्रममा डुबेर उनीहरुको मृत्यु भएको हो । 

सोमबार बिहान नुहाउन पोखरीमा गएका बालिकाहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् । 

लागू औषधसहित १० जना पक्राउ
पोखरास्थित पर्यटकीय क्षेत्र खहरेबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । सोमबार गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमबहादुर घर्ती मगरले तीन दिनको अवधिमा छ किलो २५० ग्राम खैरो चरेश, डाइजेपाम पाँच सय चार थान, फेनेरगन पाँच सय चार थान, नर्फिन पाँच सय चार थान, नाइट्रोसन ११८ थानसहित १० जनालाई पक्राउ गरेको जानकारी दिए । 

अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन  
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक चाप नियन्त्रण गरी यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याएको हो ।

विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले २१ घण्टा सेवाको शुभारम्भ भएको घोषणा गर्दै एयर ट्राफिक व्यवस्थापनमा गम्भीर भएर काम गर्न सम्बद्ध निकायका पदाधिकारीलाई निर्देशन दिए ।

दुई आरोहीको मृत्यु
सगरमाथा आरोहणका क्रममा एक जापानी नोबुकाजु कुरीकीको मृत्यु भएको छ । सगरथामाथा आरोहणका क्रममा शिविर ३ पुगेर फर्कने क्रममा आइतबार राति समूहका पथप्रदर्शकसँग सम्पर्कविहीन ३६ वर्षीय कुरीकीलाई खोज्ने क्रममा सोमबार बिहान मृतावस्थामा भेटिएको प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए ।

यसैबीच  सगरमाथा आरोहणकै क्रममा मेसोडोनियाका बैसठ्ठी वर्षीय जेओर्जी पेटकोभको आइतबार अपराह्न १ः४५ बजे सगरमाथाको शिविर ३ देखि चार सय मिटरमाथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
चौध जनाको समूहमा गत चैत १३ गते उनी गाइड ट्रेकिङ एजेन्सी विशालनगर काठमाडौँबाट सगरमाथा क्षेत्र आएका थिए ।

राष्ट्रकवि घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने
राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर उपचारत राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।
राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आवश्यक परे सरकारले विदेशमा लगेरसमेत उपचार गराउने प्रतिबद्वता व्यक्त गरे ।

राष्ट्रकवि घिमिरे एक साताअघि आन्तरिक रक्तस्राव बढेपछि अस्पताल भर्ना भइ उपचारत छन् ।

सन्दीप आज स्वदेश फर्कँदै 
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछाने मंगल अपराह्न स्वदेश फर्कँदै छन् । उनी जेट एयरमार्फत अपराह्न सवा ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने छन् ।

सन्दीपले आईपिएलमा तीन खेल खेल्दै १२ ओभरमा ८२ रन खर्चिएर पाँच विकेट लिएका थिए । अघिल्लो चरणमा टोली नपुग्ने निश्चित भएपछि दिल्लीले सन्दीपलाई अवसर दिएको थियो । 

दिल्लीले सुरुका तीन खेलमा सन्दीपलाई खेलाएको थिएनन्। उनले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेलेर आईपिएलमा डेब्यू गरेका थिए। सन्दीपले पहिलो खेलमा चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर एक विकेट लिएका थिए। दोस्रो खेलमा चेन्नई सुपर  किङ्सविरुद्ध चार ओभरमा २१ रन खर्चिएर एक विकेट हात पारे।

हिजो भएको मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीपले चार ओभरमा ३६ रन दिएर तीन विकेट हात पारेका थिए । सन्दीपले खेलेका तीनमध्ये दुई खेलमा दिल्ली विजयी भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्