
काठमाडौं, ९ जेठ – सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुखलाई ‘सम्माननीय’ शब्द प्रयोग नगरेकोप्रति प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कटाक्ष गरेका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पहिलो वक्ता देउवाले संसदको रोस्टमबाट राष्ट्रपति भण्डारीप्रति कटाक्ष गरेका हुन् ।
‘राष्ट्रपतिजीले सम्मानित शब्द प्रयोग नगरे पनि म चाहिँ सम्मानित सभामुख भन्न चाहन्छु,’ औपचारिक सम्बोधन शुरु गर्नुअघि देउवाले भने । राष्ट्रपति भण्डारीले सोमवार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले ‘प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष’ मात्र भने पनि उनीहरूलाई सम्माननीय या महोदय भन्ने आदरार्थी शब्द प्रयोग गरेकी थिइनन् ।
राष्ट्रपति, उप–राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश तथा प्रतिनिधि सभाका अध्यक्ष र राष्ट्रिय सभाका अध्यक्षलाई ‘सम्माननीय’ भन्ने प्रचलन छ ।