
काठमाडौं, १० जेठ– नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा समस्या रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संयोजक भट्टराईले नीति तथा कार्यक्रमको सैद्धान्तिक आधारमा अस्पष्टता रहेको बताए ।
उनले यसलाई कार्यान्वयन गर्नका लागि साधन र स्रोत पनि प्रर्याप्त नभएको बताए । उनले नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजान अहिलेको संरचना प्रर्याप्त नभएको बताए । उनले यी विषयतर्फ सरकारकाे ध्यान जानुपर्ने बताए ।
बैठकमा पुर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नवगठित नेकपाको आर्थिक विकासका बारेमा धारणा के हाे भनि प्रश्न गरे ।
भट्टराईले नेपालको विकासलाई अगाडी बढाउन सक्ने खालको थिंक ट्याङ्क बनाउन सुझाव दिए । उनले जातिय र धार्मीक कुरा गरेर मात्रै देश विकास नहुने बताए । राज्यले जतिसुकै मिठा कुरा गरे पनि जनस्तरमा चेतना नजागेसम्म विकास हुन नसक्ने बताए ।
उनले उदयमान दुवै छिमेकीसँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । उनले आफूले शुरु गरेको बीपा सम्झौतालाई अगाडी बढाउन सुझाव दिए । भट्टराईले आफू प्रधानमन्त्री भएका बेला भारत भ्रमणका क्रममा नेपाल र भारतबीच लगानी प्रवद्र्धन एवं सुरक्षा सम्बन्धी (बीपा) सम्झौता गरेका थिए ।
संयोजक भट्टलाईले सबैको अपनत्व हुने गरी संविधान संशोधन गरेर अगाडी बढ्ने विषय समेट्न नसकेको भन्दै यसलाई सम्बोधन गरेर जानु पर्ने बताए ।