
सुर्खेत, १० जेठ– वीरेन्द्रनगर नगरपालिकाले फूटपाथ हटाइसकेपछि कर्णालीको राजधानी समेत गरेको वीरेन्द्रनगरको बीच बजारलाई व्यवस्थित गर्ने अभियान शुरु गरेको छ । विहीवार नेताचोक, गणेशचोक र बुद्धपथ बजार क्षेत्रमा नगरको डोजर चल्यो । नगरपालिकाले बजार व्यवस्थापन गर्न भन्दै डोजर चलाए पछि स्थानीयले पनि साथ दिएका छन् ।
वीरेन्द्रनगर वडा नं. ६ बुद्धपथमा व्यवसाय गर्ने रामबहादुर शाहीले नगरपालिकाले गरेको कार्य ऐतिहासिक भएको बताए । ‘यो काम उहिल्यै गरिसक्नु पथ्र्यो,’ शाहीले भने, ‘तर पनि राजधानी बनेसँगै अतिक्रमण हटाउन नगर आक्रामक बन्नु स्वागतयोग्य हो ।’
नगरपालिकाले यसअघि फुटपाथ अतिक्रमण गरि बसेकाहरुलाई डोजर चलाएरै हटाएको थियो ।
नगरपालिकाले गरिबलाई मात्रै हटाएको भन्ने आरोप लागिरहँदा नगरपालिका बजार क्षेत्रका ‘ठूला’ भनिने व्यवसायीहरुले गरेको अतिक्रमण हटाउन थालेको हो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा कसैलाई पनि फूटपाथ अतिक्रमण गर्न नदिने प्रतिवद्धता जनाए । ‘हामी नगरलाई समृद्ध बनाउने महत्वाकांक्षी योजनासहित अघि बढेका छौं,’ उनले भने, ‘नगरले जसले अतिक्रमण गरेको छ, त्यसलाई नियन्त्रण गर्छ यसमा आग्रह–पूर्वाग्रहले प्रभाव पार्दैन ।’
प्रमुख सुवेदीले पहिलो चरणमा पहिलो चरणमा फुटपाथ व्यवस्थापन, सरसफाइका कामहरु गरेको बताए । ‘प्रदेशको राजधानी भएकोले पनि हामीले नगर व्यवस्थापनमा जोड दिएका हौं ।’ उनले भने, ‘अब आगामी बजेट सत्रमा हामीले नगर विकास मापदण्ड तयार गर्नेछौं ।’
नगर प्रमुख सुवेदीले बजारमा मापदण्डभन्दा बाहिर परेको खण्डमा घर, भवन वा अन्य जस्तोसुकै संरचना भए पनि भत्काइने बताए । तर बजार क्षेत्रमै रहेको उषा बालबाटिकाले सार्वजनिक जग्गामा घेरबार लगाएको छ । उसले अहिलेसम्म घेरबार हटाएको छैन ।
यससम्बन्धमा प्रश्न सोध्दा नगर प्रमुखले विद्यालयलाई पत्र पठाइसकिएको बताए । ‘हामीले उक्त घेरबार हटाउन पत्र पठाइसकेका छौं,’ उनले भने, ‘विद्यालय क्षेत्र भएका कारण डोजर नचलाएका हौं ।’
नगर प्रमुख सुवेदीले एक–दुई दिन भित्र विद्यालयले घेरबार नहटाए नगरको डोजर चल्ने बताए ।