३१ असार २०८३, बुधबार

कर्णालीको बजेट असार १ गते, आकार झण्डै १५ अर्ब बराबर

जेठ ११, २०७५
कर्णालीको बजेट असार १ गते, आकार झण्डै १५ अर्ब बराबर

सुर्खेत, ११ जेठ –कर्णाली प्रदेश सरकारले असार १ गते प्रदेशसभामा बजेट प्रस्तुत गर्ने भएको छ । झण्डै १५ अर्ब बराबरको बजेट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा पेश गर्ने भएका हुन् ।

बजेट निर्माण सम्बन्धमा प्रदेश सरकार र स्थानीय तहबीच शुक्रबार वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले उक्त बजेट संसदमा पेश भएकै दिन अख्तियारी जाने बताए ।

मन्त्री ज्वालाले विगतमा असोजसम्म पनि बजेट पास नहुने र त्यसले विकास निर्माण प्रक्रियालाई ढिलो गराउने तथा पूँजीगत बजेट कार्यान्वयनमा समस्या आउने गरेकैले नयाँ आर्थिक वर्ष शुरु हुनुपूर्व नै बजेट पास गरिसक्ने प्रावधान संविधानमा उल्लेख भएको बताए । जसका कारण असार पहिलो साताभित्रै बजेट पारित हुने उनको भनाइ छ ।

मन्त्री  ज्वालाले साउन र भदौमा सबैले टेण्डर आह्वान गर्ने र असोजबाटै निर्माण कार्य प्रारम्भ गरेको खण्डमा विकासे कामहरू बढी हुने अपेक्षा व्यक्त गरे । ‘तपाईंहरू पनि बजेट तयारी गर्नुस् र साउन÷भदौ महिनामा सबै कागजी कामहरू गरिसक्नुस्,’ उनले भने, त्यसो गर्न सके मात्रै तपाईंहरूले जनअपेक्षा अनुरूप काम गर्न सक्नुहुन्छ ।’

मन्त्री ज्वालाले स्थानीय तह र प्रदेश सरकारबीच नंग र मासुकोजस्तो सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए । ‘हामीले यहाँहरूलाई पर्ने समस्या नीति नियम तथा कानुन बनाएर समाधान गर्नेछौं,’ उनले भने, प्रदेश समृद्धिको योजनामा यहाँहरुसँग सहकार्य गर्दै अघि बढ्ने हाम्रो सोच छ ।’

प्रदेश सरकारले के कस्ता योजना छान्नुपर्छ र कार्यान्वयनमा लैजान सकिन्छ, यसबारेमा सुझावको अपेक्षा गरेको बताउँदै मन्त्री ज्वालाले सकेसम्म बढी भन्दा बढी जनताको सहभागिता र अपनत्व हुने योजना छनोट गरी प्रदेश सरकारलाई दिन आग्रह गरे ।

कार्यक्रममा दैलेख, सुर्खेत, जाजरकोट, रुकुम र सल्यानका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्