
काठमाडौं, ११ जेठ –राज्य संयन्त्रको विस्तारले गर्दा सिंहदरबारमा आफूहरूले गाडी पार्किङको सुविधा समेत नपाएको भन्दै एक सांसदले संसदमा कुरा उठाएकी छन् ।
राज्यको विस्तार भारी हुँदै गइरहेका कारण चालू खर्च बढिरहेको धारणा समेत उनले राखिन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा शुक्रवार संघीय समाजवादी फोरमकी सांसद सरिता गिरीले गाडी पार्किङका लागि स्थान नपाएको गुनासो गरेकी हुन् ।
‘हिजो संविधानसभामा हामी ६०१ सभासद थियौं, त्यो बेलामा सिंहदरबारमा कार पार्किडका लागि समस्या थिएन । अहिले अत्यन्तै कम भएका छौं, तर पार्किङका लागि ठाउँ पाइन्न । कारण के हो भनेर यसो बुझ्दा शाखा अधिकृतसम्मले कार पाउनुभएको छ,’ सांसद गिरीले भनिन्, ‘हामीहरुलाई ठाउँ छैन । ह्वाट इज दिस ? उहाँहरूले कार पाउनुभयो भनेर गुनासो गरेको होइन । तर पोलिटिक्सलाई मार्जिनमा पुर्याउने पनि त होइन नि !’
राजनीति र प्रशासनबीच सन्तुलन कायम गर्न नसके यस्तै अवस्था हुने उनको भनाइ छ ।
सांसद गिरीले संविधानको प्रस्तावनामा स्वायत्तता र स्वशासनको कुरा रहे पनि अहिले संविधानमा नभएको सन्तुलन र नियन्त्रणको कुरा आएको बताइन् ।
प्रदेश सरकारमाथि केन्द्र सरकारको रवैयाप्रति असन्तुष्टि जनाउँदै गिरीले भनिन्, ‘राजनीतिक विमति छ भने सरकारलाई अपदस्त गर्न सक्नुहुन्छ, तर दण्डित गर्न सक्नुहुन्न, यो राजनीतिक भाषा होइन, चिन्ताजनक हो ।’