
काठमाडौं, १२ जेठ – बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरोसर्जन डाक्टर उपेन्द्र देवकोटालाई बेलायतबाट नेपाल फिर्ता ल्याइएको एक महिना पुग्न लागिसकेको छ ।
पित्तनलीमा समस्या देखिएका डा. देवकोटालाई बेलायतबाट वैशाख १५ गते नेपाल ल्याइएको थियो । डा. देवकोटाको स्वास्थ्य अवस्थामा सुधार नआएको न्यूरो अस्पतालले जनाएको छ ।
बेलायतको किङ्स कलेज हस्पिटलमा ५ महिना उपचार गराएपछि आफ्नै अस्पतालमा उपचार गराउने इच्छा राखेर डाक्टर देवकोटा स्वदेश फर्किएका थिए ।
न्यूरो अस्पतालमा ल्याइएपछि डा. देवकोटासँग भेटघाट गर्न करीब एक सातासम्म पूर्ण रोक लगाइयो । एक सातापछि मात्रै अस्पतालले डा. देवकोटाका आफन्त र शुभेच्छुकहरूलाई समय मिलाएर भेट्ने व्यवस्था गरेको थियो ।
डाक्टर देवकोटालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्री तथा पूर्वमन्त्रीहरू, आफन्तहरू र डाक्टर देवकोटाले उपचार गराएर निको पारेका सयौं बिरामीहरू समेत न्यूरो अस्पतालमा पुगेका थिए ।
हालसम्म ३५ सयभन्दा बढीले न्यूरो अस्पतालमा नै पुगेर डाक्टर देवकोटाको स्वास्थ्यलाभको कामना गरिसकेको डा. देवकोटाका भाइ वसन्त देवकोटाले बताए ।
उनले भने, ‘एक दिनमा दुईसयसम्म शुभेच्छुकहरू अस्पतालमा उहाँलाई भेट्न आउनुहुन्छ, दुई साताको अवधिमा ३५ सयभन्दा बढी शुभेच्छुकहरु आइसक्नुभयो ।’
अस्पतालले डाक्टर देवकोटालाई भेट्न आउने शुभेच्छुकहरूका लागि आगन्तुक पुस्तिकाको व्यवस्था गरेको छ । उक्त पुस्तिकामा अस्पतालमा पुगेका शुभेच्छुकहरूले डा. देवकोटाका लागि मार्मिक शब्दमा स्वास्थ्य लाभको कामना गरेका छन् । डाक्टर देवकोटाका शुभेच्छुकका शुभेक्षाले ३ वटा आगन्तुक पुस्तिकाका पानाहरू भरिइसकेका छन् ।
आगन्तुक पुस्तिकामा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि डा. देवकोटाले उपचार गरी निको बनाएका व्यक्तिहरूको मार्मिक शुभेच्छाहरू छन् ।