काठमाडौं, १३ जेठ – इन्डियन प्रिमियर लीग (आईपीएल) को फाइनल आइतवार मुम्बईको वान्खेडे स्टेडियममा खेलिँदैछ । सनराइजर्स हैदराबाद र चेन्नई सुपरकिंग्सबीचको फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । एकसँग राम्रो बलिङको शक्ति छ भने अर्कोसँग अनुभवको प्राचुर्य छ ।
केन विलियम्सनको नेतृत्वमा हैदराबादले कम स्कोरलाई पनि सफलतापूर्वक प्रतिरक्षा गरेर सबैलाई आश्चर्यचकित पारेको छ । तर धोनीको नेतृत्वमा रहेको चेन्नईले हैदराबादलाई यो टूर्नामेन्टका तीनै खेलमा हराएको छ ।
तर यो प्रतिस्पर्धा फरक हो । फाइनलमा पछिल्ला उपलब्धिको हिसाब हुँदैन अनि सबै कुरा नयाँ तरिकाले परिभाषित गर्नुपर्छ ।
क्वालिफायर १ मा हैदराबादलाई हराएर चेन्नई फाइनलमा सीधै पुगेको हो । हैदराबादले भने क्वालिफायर २ मा कोलकातालाई हराएपछि बल्ल फाइनल पुग्ने अवसर प्राप्त भएको हो ।
हैदराबाद लीग चरणको अंकतालिकामा पहिलो स्थानमा रहेको भएपनि उसले अन्तिम तीन म्याचमा चेन्नई, बंगलोर र कोलकाताबाट पराजय बेहोर्नुपरेको थियो । लगातार चार म्याच हारेपछि हैदराबादले शुक्रवार कोलकातालाई हराएको हो ।
हैदराबादले कम स्कोरलाई प्रतिरक्षा गर्ने गरेको छ भने चेन्नई चाहिँ लक्ष्यको चेज गरेर जित्न खप्पिस छ । चेन्नईसँग चार दमदार ब्याट्स्म्यान छन् जसले आईपीएलमा ४०० भन्दा बढी रन बनाइसकेका छन् ।
अम्बाती रायुडुले ५८६, महेन्द्र सिंह धोनीले ४५५, शेन वाट्सनले ४३८ अनि सुरेश रैनाले ४१३ रन बनाइसकेका छन् ।
हैदराबादका प्रशंसकहरू सन् २०१७ मा मुम्बईले पुणेविरुद्ध लगातार हारको सिलसिलालाई फाइनलमा तोडेको जस्तैगरी चेन्नईको दबदबालाई ध्वस्त पारेर दोस्रोपटक आईपीएल उपाधि जित्ने अपेक्षा गरिरहेका छन् ।
एजेन्सी