
काठमाडौं, १७ जेठ – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनका दाहिने हात मानिएका नेता किम योङ–चोलले अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओलाई अमेरिकामा भेटेका छन् ।
किम जोङ–उन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीचको ऐतिहासिक सम्मेलनका बारेमा छलफल गर्नका लागि उनीहरूको भेटघाट भएको हो ।
चीनबाट अमेरिकाका लागि उडेका योङ–चोलले पम्पिओसँग रात्रिभोज गरेका थिए अनि उनीहरूबीच बिहीवार पनि कुराकानी हुँदैछ ।
विगत २० वर्षमा अमेरिका भ्रमण गर्ने उनी सबभन्दा उच्चतहका अधिकारी हुन् ।
ट्रम्पले १२ जुनमा हुने सम्मेलन स्थगित गरेपनि अमेरिका र उत्तर कोरिया दुवैले तय मितिमै बैठक गर्न प्रयास थालेका छन् ।
सिंगापुरमा हुने भनिएको यो ऐतिहासिक बैठक बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको पहिलो बैठक हुनेछ ।
बुधवार बेलुका पम्पिओ र किम संयुक्त राष्ट्रसंघको मुख्यालयनजिक रहेको भवनमा छुट्टाछुट्टै आइपुगेका थिए ।
उत्तर कोरियाले ट्रम्प प्रशासनका सदस्यहरूले उत्तरको निःशस्त्रीकरण कार्यक्रमलाई लिबियासँग तुलना गरेपछि कडा आपत्ति जनाएको थियो ।
लिबियाका पूर्वनेता कर्नेल गद्दाफीले आणविक कार्यक्रम त्यागेको केही वर्षपछि पश्चिमको समर्थनमा रहेका विद्रोहीहरूले उनको अपमानजनक हत्या गरेका थिए ।
किम र पम्पिओबीचको थप वार्ता आज पनि हुनेछ ।
बीबीसीबाट