०७ असार २०८३, आइतबार

मुख्य समाचार : नेकपाले जारी गर्‍यो अन्तरपार्टी निर्देशन-दुई ठाउँमा केन्द्रीय कार्यालय, म्यानपावरका कर्मचारी पक्राउ

मुख्य समाचार : नेकपाले जारी गर्‍यो अन्तरपार्टी निर्देशन-दुई ठाउँमा केन्द्रीय कार्यालय, म्यानपावरका कर्मचारी पक्राउ

काठमाडौं, १८ जेठ–एकताको दुई सातापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबाट पहिलो पटक लिखित रूपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी भएको छ ।

जनताका लागि समृद्ध जीवन र सामाजिक न्याय सुनिश्चित गर्ने र समाजवादका लागि भौतिक तथा सामाजिक आधार तयार गर्ने अनुकूल राजनीतिक परिस्थिति निर्माण भएकाले अब पार्टी एकताका बाँकी कार्यभार पूरा गर्न अन्तरपार्टी निर्देशनमार्फत आह्वान गरिएको छ । 

पार्टीलाई अन्तरपार्टी जनवाद र अनुशासनका दृष्टिले सुदृढ एवं व्यवस्थित गर्न कुनै पनि प्रकारको गुटबन्दी र पक्षधरताका हानिकारक प्रवृत्तिहरू प्रकट हुन नपाउन् भनेर होसियार रहन पनि अध्यक्षद्वयले निर्देशन दिएका छन् । 

नेकपाको कार्यालय दुई ठाउँमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय दुई ठाउँबाट संचालनमा आउने भएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी टुंगो लागेको बताइएको छ । 

नेकपा सचिवालय बैठकले पेरिडाँडामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, जनवर्गीय संगठन र पार्टीका विभिन्न आयोगको कार्यालय रहने टुंगो लगाएको हो ।

धुम्बाराहीमा अध्यक्षद्वयसहित सचिवालयका ९ सदस्यहरूको कार्यकक्ष व्यवस्थापन गरिने निर्णय भएको छ । धुम्बाराही कार्यालय भाडाको भएको र पेरिसडाँडामा पर्याप्त खाली ठाउँ रहेकाले पार्टीका धेरै काम भने पेरिडाँडा कार्यालयबाटै हुने छन् । 

खत्री पुर्पक्षका लागि कारागार 
सुन तस्करीको अभियोगमा वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा बिहीबार खत्रीसँग १२ पृष्ठको बयान लिइएपछि थुनछेकको बहस भएको थियो । त्यसपछि न्यायाधीश शर्माले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेका थिए ।

गत वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत मोरङमा खत्रीलगायतमाथि रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० मूल्य बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरेको थियो । 

संसदमा बजेटमाथि छलफल
आर्थिक वर्ष २०७५–०७६ का लागि संघीय संसदमा सरकारले प्रस्तुत गरेको बजेटमाथि बिहीबारबाट छलफल शुरु भएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा आजबाट छलफल शुरु भएको हो ।

दुवै बैठकमा भएको छलफलमा भाग लिदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले  बजेट प्राथमिकताविहीन कार्यक्रमको फेहरिस्त भएको बताएका छन् । सत्ता पक्षका सांसदले उत्कृष्ट रहेको बताएका छन् । 

घुस लिएको अभियोगमा नियन्त्रण
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवनका नासु मनोज निरौला र कार्यालय सहयोगी शंकरप्रसाद धिताललाई रु २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

लालपुर्जा र जग्गाको क्षेत्रफल मिलान गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोग, हेटौंडाको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण असार ५ देखि
प्रधानमन्त्री केपी शर्मा ओली आगामी असार पहिलो हप्ता चीन भ्रमणमा जाने हुुनु भएको छ । जुन १९ देखि २४ अर्थात असार ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले चीनको भ्रमण गर्न लाग्नु भएको हो । 

परराष्ट्र मन्त्रालयले ओलीको चीन भ्रमण निश्चित गरेको हो । उहाँको चीन भ्रमण सिचुवान प्रान्तबाट सुरु हुने बताइएको छ । 

म्यानपावर कम्पनीका कर्मचारी पक्राउ
वैदेशिक रोजगार विभागले कतार जाने कामदारबाट बढी शुल्क लिँदै गर्दा म्यानपावर कम्पनीका एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वसुन्धरास्थित डी सेन्टर ओभरसिज कन्सर्नका कर्मचारी बालकुमारी राई रहेका छन् । 

कतार जाने कामदारबाट रु ९५ हजार लिँदालिँदै उनलाई पक्राउ गरेको विभागका निर्देशक रामकुमार थापाले जानकारी दिए ।

चट्याङबाट तीन जनाको मृत्यु
लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछामा हावाहुरी र वर्षासँगै बिहीबार साँझ परेको चट्याङबाट तीन जनाको मृत्यु भएको छ । ताम्लिछाका कृष्णबहादुर भुजेलको घरमा चट्याङ पर्दा उनकी आठ वर्षीया छोरी विष्णुमाया, ६३ वर्षीय धनप्रताप राई र खड्गबहादुर भुजेलका ११ वर्षीय छोरा कौशलको मृत्यु भएको प्रहरी प्रमुख नवराज भट्टले बताए ।

आरोपको खण्डन
समाज सेवाको अभियानमा लागेका हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले वीर अस्पतालको सरसफाइ र रङरोगनका क्रममा एक पैसा पनि अनियमितता नभएको प्रस्ट पारेका छन् । बिहीबार वीर अस्पतालमै पत्रकार सम्मेलन गर्दै धुर्मुसले आफूले कुनै भ्रष्टाचार नगरेको र गरेको पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका हुन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका धुर्मुसले वीर अस्पतालको सरसफाइका लागि हालसम्म १४ लाख ६४ हजार ८३५ रुपैयाँ उठेको तर खर्च भने ४८ लाख ६४ हजार ३४४ रुपैयाँ भइसकेको जानकारी दिए ।

३९ बालिकाको उद्धार
काठमाडौंका गोंगवु, ठमेल, कोटेश्वर, वानेश्वर, वालाजुलगायतका क्षेत्रमा सञ्चालित होटल, बार, रेष्टुरेन्टमा कार्यरत ३९ बालिकाको उद्धार गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बालिकालाई शारीरिक शोषण, मानसिक दुव्र्यवहारलगायत कार्यमा लगाई पारिश्रमिक समेत नदिएको सूचनाको आधारमा छापा मारेको हो ।

परिसरका डिएसपी मोहन थापाका अनुसार ठमेल क्षेत्रबाट ३ जना, कोटेश्वरबाट २, वालाजुबाट ११, गोंगबुबाट १४ र बानेश्वर क्षेत्रबाट ९ जना बालिकाको उद्धार गरिएको हो । 

नुवाकोट गोल्डकप फुटबल शुरु
बिहीबारदेखि शुरु भएको ‘प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को उद्घाटन खेलमा घरेलु टोली नुवाकोट विजयी भएको छ । बट्टारस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले चितवन–११ लाई १–० गोल अन्तरले हराएको हो । 

यही जेठ २६ गतेसम्म चल्ने प्रतियोगितामा घरेलु टोली नुवाकोटसहित थ्रीस्टार, फ्रेन्डस अफ क्लब जाउलाखेल, नेपाल पुलिस, एपिएफ, मदन भण्डारी स्पोर्टस एकेडेमी, चितवन, रूपन्देही, कास्की र काठमाडौंँका दश टोलीले सहभागिता जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्