
पाल्पा, १८ जेठ – पाल्पाको रम्भादेवी गाउँपालिका वडा नं. ४ हुमिनमा शुक्रवार भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जनामध्ये ११ को सनाखत भएको छ ।
स्थानीय पत्रकार कृष्ण कार्कीका अनुसार दुर्घटनामा परी पाल्पाको तानसेन नगरपालिका वडा नम्बर २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाण, कृष्णमान बज्राचार्य, देवेन्द्रलाल प्रधान र छत्रमान शाक्य, वडा नम्बर ४ का विष्णुमान बज्राचार्य र कृष्णबहादुर बोहरा तथा वडा नम्बर ६ का दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ र गीता बुढाथोकी छन् ।
दुर्घटनामा घाइते भएका सचिन बज्राचार्यको तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको कार्कीले जानकारी दिए । मृतक अर्का एक जनाको शनाखत हुन सकेको छैन ।
केही घाइतेको मिसन अस्पतालमा उपचार भइरहेको छ ।
लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूलाई लिएर तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस शुक्रबार बिहान करीब ९ बजे दुर्घटनामा परेको हो ।
बस सडकबाट झन्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । २७ जनाका लागि भनेर बस रिजर्भ गरिएको खुले पनि बसमा कति यात्रु थिए भन्ने यकिन हुन बाँकी छ ।