
जनकपुर, १८ जेठ - २ नम्बर प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले रमजानको अवसरमा जनकपुरको हन्फिया तुल गोसिया मस्जिदमा नमाज पढेका छन् ।
रमजानको १५ औं दिन आज जनकपुर उपमहानगरपालिका–६ स्थित मस्जिद हन्फिया तुल गोसियामा मुख्यमन्त्री राउतले जुम्माको नमाज पढेका हुन् । मस्जिद जनकपुरको जानकी मन्दिर नजिक छ । मुख्यमन्त्री भएपछि हिन्दू धर्म शास्त्र अनुसार कार्यालयमा साइत हेरेर मन्त्र उच्चारण गरी पदभार सम्हालेका राउतले आफ्नो मुस्लिम धर्म परम्परा अनुसार हाल रमजान पर्वमा रोजा बसिरहेका छन् ।
मुस्लिम समुदाय प्रायः प्रत्येक शुक्रबारका दिन अलबिदा नमाज पढ्ने गर्छन् । तर, रमजान पर्वका बेला शुक्रबारको जुम्माका अवसरमा नमाज पढ्दा थप फल प्राप्त हुने विश्वास गरिन्छ । ‘अन्य शुक्रबार नमाज पढेपनि रमजानका अवसरमा जुम्माका दिन नमाज पढ्नु अनिवार्य नै मानिएको छ,’ राष्ट्रिय मुस्लिम गठबन्धन धनुषाका प्रवक्ता साजिद हुसैनले भने । अन्य समयमा नमाज नपढेपनि रमजानमा पढ्दा त्यो सबै कटौति भएर अल्लाहले माफी दिने विश्वासका कारण प्रायः रमजानको शुक्रबार नमाज पढ्ने गरिन्छ ।
मुख्यमन्त्री राउत पनि रमजानका अवसरमा प्रत्येक दिन रोजा बस्ने गरेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बताए । ‘दिनभरि कडा उपवास बसेर पनि उहाँ दैनिक १६ घण्टासम्म काम गर्नुहुन्छ,’ मन्त्री यादवले भने । मुख्यमन्त्री राउत आजको नमाज पढेर आफ्नो गृहजिल्ला वीरगञ्ज गएका छन् ।