
काठमाडौं, १८ जेठ - बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी दशैंअघि काठमाडौं नआउने देखिएको छ । खानेपानी मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गर्दै निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेको भन्दै दशैंअघि पानी नआउने संकेत गरेको हो ।
खानेपानी मन्त्री विना मगरले दशैंअघि नै काठमाडौंमा मेलम्चीको पानी आउने सार्वजनिक घोषणा गरेकी थिइन् । घोषणा अनुसार नै निर्माण कम्पनी सीएमसीले दशैंअघि नै काम सक्ने गरी कार्यतालिम बनाएको थियो । तर कार्यतालिकाअनुसार निर्माण कम्पनीले काम नगरेका कारण मेलम्चीको पानी काठमाडौं आउन ढिला हुन सक्ने मन्त्रालयले संकेत गरेको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सहसचिव शंकरप्रसाद सुवेदीले सुरुङमा ढलानको काम गर्न निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेको र कार्ययोजना अनुसार काम नगरेको बताए ।
‘ठेकेदार पक्षले कम्पनीको आन्तरिक विवाद देखाएर उच्च व्यवस्थापकबाट सहयोग नभएको र केन्द्रीय कार्यालयबाट रकम उपलब्ध नगराएको बहाना गर्ने गरेको छ,’ उनले भने । निर्माण कम्पनीका प्रतिनिधिसँग पटक–पटक छलफल र पत्राचार गर्दा पनि कार्यप्रगतिमा सुधार हुन नसकेको जनाइएको छ ।
निर्माणाधीन आयोजना अन्तर्गत गत चैत २७ गते सुरुङ खन्ने कामको ‘ब्रेक थ्रु’ गरिएको थियो ।
‘ब्रेक थ्रु’ लगत्तै आगामी साउन ३० गते मेलम्चीको पानी सुन्दरीजलमा पथान्तरण गर्ने घोषणा गरेपनि कार्यतालिका अनुसार काम भइरहेको छैन ।
पत्रकार सम्मेलनमा प्रवक्ता सुवेदीले मन्त्रालयले अब निर्माण कम्पनीको केन्द्रीय कार्यालय इटलीमा उच्च व्यवस्थापकसँग नै छलफल गर्ने बताए ।
‘उक्त संवादबाट समेत ठेकेदार पक्ष गम्भीर नभई कार्यप्रगति अघि नबढेको अवस्थामा सम्झौता पालना नगरेको मानी जुनसुकै प्रकारको कदम समेत चाल्न सक्ने जानकारी गराउन चाहन्छौं,’ प्रवक्ता सुवेदीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लेखिएको छ ।