
काठमाडौं — रुघामर्कीले समात्ने बेलामा घाँटी खसखसाएको त पक्कै याद गर्नुभएको होला । किन त्यसरी खसखसाउँछ, थाहा छ तपाईंलाई ?
घाँटी खसखसाउँदा रुघामर्की लाग्ने लक्षण त हुँदै हो तर यसमा अरू थुप्रै कारण हुन सक्छन् । त्यसैले घाँटीमा खसखस भयो भने सम्भावित कारणका बारेमा जान्नु जरूरी हुन्छ ।
तपाईंलाई थुक निल्न समेत गाह्रो भयो भने घाँटीमा समस्या भएको बुझ्नुपर्छ । श्वासप्रश्वासमा संक्रमणका लागि जिम्मेवार भाइरसहरूले घाँटीमा आक्रमण गरेर दुःख दिएका हुन सक्छन् । भाइरसले घाँटीमा आक्रमण नगरेपनि तपाईंलाई पीडा हुन सक्छ ।
तपाईंलाई कठोर पीडा भयो भने चिकित्सकसँग परामर्श गरेर रोग गम्भीर हो कि होइन सुनिश्चित गर्नुपर्छ ।
घाँटी खसखसाउनुका पछाडि पानीको कमी वा डिहाइड्रेसन पनि एक कारण हुन सक्छ । घाँटीमा पानी कम हुँदा कफ जम्मा हुन्छ र घाँटी कुत्कुत्याउँछ ।
अनि मौसमअनुसारका एलर्जीले पनि घाँटी खसखसाइदिन्छन् । फूलको परागकणबाट हुने एलर्जीले पनि घाँटीमा समस्या ल्याइदिन्छन् ।
काठमाडौंको धूलो धूवाँले पनि घाँटीमा असहजता ल्याउने र खोकी लगाउने गरिदिन्छ । हावामा धूलोका कणहरूले घाँटी कुत्कुत्याइदिन्छन् ।
एजेन्सीको सहयोगमा