
काठमाडौं, २४ जेठ – रुसमा हुन गइरहेको फिफा विश्वकप अर्को बिहीवारबाट शुरू हुँदैछ तर त्यसअघि नै यो विवादमा आइसकेको छ ।
ताजा विवाद मेक्सिकोको टीमले निम्त्याएको हो । मिडिया रिपोर्टका अनुसार, रुस जानुअघि मेक्सिको टोलीका कैयौं खेलाडीले यौनकर्मीहरूसँग पार्टी गरेका छन् । तर व्यवस्थापनले टीमलाई क्लीन चिट दियो । खेलाडीले खाली समयमा जे गर्न पनि स्वतन्त्र रहेको उसले बतायो ।
उता मस्कोमा विश्वकपका बेलामा पर्यटकका लागि रोबोट वेश्यालय खुलेको विषयमा पनि विवाद उठेको छ ।
रुसमा अर्को विवाद भनेको विश्वकपअघि ११ शहरमा २० लाख कुकुर र बिरालो मार्नका लागि रुस सरकारले १९.५ लाख डलरको सम्झौता गरेको छ । ती ११ शहरमा फूटबल म्याच खेलिँदैछ । कुकुर बिरालो मार्ने टोलीको नाम क्यानी केजीबी राखिएको छ ।
रुसकै सोचीमा भएको शीतकालीन ओलम्पिकअघि पनि हजारौं भुस्याहा कुकुरलाई मारिएको थियो ।
पशुअधिकारवादीहरूले शहरको छवि सुधार्नका लागि सरकारले पशुबलि दिएको भनी निन्दा गरेका छन् । हजारौं चराहरूलाई पनि जिउँदै जलाइएको छ ।
विवाद बढेपछि रुसका उपप्रधानमन्त्री भिटाली मुटकोले पशुअधिकारवादीहरूसँग बैठक गरे । पशुलाई मार्नुको साटो शिविरमा बन्द गरिने उनले आश्वासन दिए । तर पशुअधिकारवादीहरूले यसपछि पनि पशुहत्या चलिरहेको बताए ।
डिसेम्बर २०१० मा विश्वकपको सन् २०१८ को संस्करण रुसले गर्ने घोषणा गरियो । बेलायत, नेदरल्यान्ड्स र पोर्चुगल जस्ता दाबेदार हुँदाहुँदै रुसलाई छनोट गरिएको भनी मानिसले आश्चर्य माने । रुसले फिफाको कार्यकारी समितिका सदस्यलाई घूस दिएर आफ्नो पक्षमा ल्याउको आरोप पनि लाग्यो ।
खासमा विश्वकपको आतिथ्य पाउनुअघि नै सन् २००९ मा रुसले आफ्ना फूटबल स्टेडियमहरू र प्रमुख शहरमा आधारभूत परिवर्तन सुधार्नका लागि १२ अर्ब डलर खर्च गर्ने बताएको थियो । त्यसपछि शंका गरियो, आयोजक हुनुअघि नै उसले कन्फिडेन्सका साथ कसरी योजना लागू गरिरहेको छ त ? अनि रुसकै नाम घोषित भएपछि यो आरोप थप मजबूत भयो ।
यो आरोपको अनुसन्धान गर्न फिफाको एथिक्स कमिटीले उपसमिति बनायो । माइकल गार्सियालाई अनुसन्धान समितिको अध्यक्ष बनाइएको थियो ।
उता अमेरिकी महान्यायाधिवक्ताले पनि यस विषयमा आफ्नो स्तरमा अनुसन्धानको घोषणा ग–यो । सन् २०१७ मा निस्केको प्रतिवेदनले केही पत्ता लगाएन ।
पछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटरलाई हटाउनका लागि अमेरिकाले गरेको षड्यन्त्र गरेको आरोप लगाए ।
एजेन्सी