
सुर्खेत, २४ जेठ – कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको नवौँ बैठक आज अवरुद्ध हुनाका साथै २४ घण्टाका लागि स्थगन भएको छ ।
प्रदेशसभा प्रतिपक्षी दल नेपाली काँग्रेसका सदस्यले पहिलो र दोस्रो अधिवेशन चलेयता पहिलो पटक सभा अवरुद्ध गरेका हुन् । सभामुख राजबहादुर शाहीले काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई पाँच मिनेट बोल्ने समय दिनुभएको थियो । उहाँले विभिन्न विषयमा बोलेलगत्तै काँग्रेसका सदस्यले बैठक अवरुद्ध गरेका थिए ।
नेता शाहीले सरकारले तीन तीन विधेयक भिन्नाभिन्नै तरिकाले ल्याएपछि भिन्नाभिन्नै दफामा उल्लेख गर्नुपर्ने भन्दै प्रदेशसभा सदस्यको क्षमतामाथि प्रश्न गर्नुभयो । उहाँले प्रदेश सरकारले रातो किताब र कर्णाली–रारा पर्यटन वर्ष २०७५ को यथार्थ खर्च सार्वजनिक नगरेसम्म बैठक चल्ने नदिने चेतावनी दिनुभएको थियो ।
त्यससँगै काँग्रेसका सबै सदस्यले उभिएर मौन विरोध गर्दा सभामुख शाहीले बस्न अनुरोध गर्नुभयो । सदस्यले बारम्बारको अनुरोध नमान्दा सभामुख शाहीले आधा घण्टाका लागि बैठक स्थगन भएको घोषणा गर्नुभयो । आधा घण्टापछि बैठक चल्ने अवस्था नदेखिपछि सभामुख शाहीले यही जेठ २५ गते अपराह्न ३ बजे बैठक बस्ने जनाउँदै सूचना टाँस गरी बैठक स्थगन भएको जानकारी दिनुभयो ।
प्रदेशसभामा आज भएको अवरोधले शुक्रबार कर्णाली प्रदेश सरकारले ल्याउन लागेको आव ०७५÷०७६ को नीति तथा कार्यक्रम प्रभावित हुने संकेत देखिएको छ । सरकारले भने शुक्रबार नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गृहकार्य गरिरहेको छ ।