
बुटवल, २५ जेठ– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको बर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्र सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सो सडकखण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ । वर्षा नलाग्दै परेको पानीले यसअघि पनि पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
यसैगरी पाल्पाको मदनपोखरा नजिकै भालेबासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सिद्धबाबामा बिहान ५ बजे र भालेबासमा ४ बजे पहिरो खसेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा हुँदै गुल्मी, अर्खाखाँची, स्याङ्जा, पोखारालगायतका स्थानमा जान लागेका र पाल्पा हुँदै बुटवल हिडेंका यात्रु अलपत्रपरेका छन् ।