
काठमाडौं,२५ जेठ–लामो समयको विवादपछि प्रतिनिधिसभाले आफ्नो नियमावली पारित गर्ने तयारी गरेको छ । फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन नहुने सहमति पछि नियमावली पारित हुन लागेको संसद सचिवालयले जनाएको छ । फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने तर सेवा सुविधा खोस्ने नियमावली मस्यौदा समितिमा भएको सहमतिअनुसार अघि बढ्न प्रमुख दलहरू सहमत भएका हुन्।
प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले सो नियमावली पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । त्यसअघि नियमावलीमाथि प्रतिनिधिसभा बैठकमा दफावार छलफल गर्ने कार्यसूची छ ।
फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने विषयमा सहमति जुटन नसक्दा संसद अधिवेशन शुरु भएको एक महिनामा पारित गर्नुपर्ने नियमावली बन्न सकेको थिएन ।