
काठमाडौं, २५ जेठ– नेपाल लोकतान्त्रिक निर्माण व्यवसारी संघले निर्माण व्यवसायी (ठेकेदार)हरुको पक्राउको विरोध गरेको छ ।
गृह मन्त्रालयको आदेशमा जिल्ला प्रशासन कार्यालयहरुले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर निर्माण व्यवसायीहरुलाई पक्राउ गर्ने र वयान लिने काम गरेको भन्दै नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघले विरोध गरेको हो ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले सार्वजनिक खरिद ऐन र नियमावली विद्यमान रहेको अवस्थामा गृह मन्त्रालयले अनावश्यक हस्तक्षेप गरि ऐन नियम विपरित निर्माण व्यवसायीहरुलाई पक्रने र थुन्ने कार्यले निर्माण व्यवसायीहरुलाई त्रसित र आतंकित बनाएको जनाएको छ ।
ठेक्का सम्झौता अनुसार काम नगर्ने ठेकेदारहरुलाई कानूनमा भएको व्यवस्था अनुसार कारवाही गर्न सार्वजनिक निकायलाई सक्रिय बनाउनुको सट्टा आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर गृह प्रशासनले निर्माण व्यवसायीहरुलाई धर पकड गरेको भन्दै लोकतान्त्रिक निर्माण व्यवसायी संघले आपत्ति जनाएको हो ।
निर्माण व्यवसायी संघले ठेकेदारको मात्र नभएर सरकारका कर्मचारीहरुका कारण पनि कतिपय ठेक्काका काममा ढिलाइ हुनेगरेको भन्दै त्यस्ता कर्मचारीहरुलाई पनि कारवाही गर्न संघले सरकारलाई चुनौती दिएको छ ।
संघले निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन ऐन नियम नै पर्याप्त भएको भन्दै कानून अनुसार गर्न र निर्माण व्यवसायीहरुलाई आतंकित बनाइ निर्माण व्यवसायीलाई निरुत्साहित गर्ने कार्य तत्काल बन्द गर्न निर्माण व्यवसायीहरुले आग्रह गरेका छन् ।
अध्यक्ष हुमनाथ कोइरालाले जारी गरेको विज्ञप्तिमा सरकारले एकोहोरो धरपकड मात्र गरिरहेका राष्ट्रभरिका सम्पूर्ण निर्माण व्यवसायीहरु निर्माण कार्य बन्द गरी आन्दोलनमा होमिले चेतावनी दिएका छन् ।