
काठमाडौं, २६ जेठ – प्रख्यात न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सर्वत्र चासो बढेको छ ।
काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटाको अवस्था अरु दिनभन्दा गम्भीर रहेको उनका भाई वसन्त देवकोटाले गएराति बताएका थिए । गएराति नै सामाजिक सञ्जालमा ‘अप्रिय हल्ला’ फैलिएपछि उनको स्वास्थ्य अवस्थाबारे सबैले चासो व्यक्त गरिरहेका छन् । ‘अप्रिय हल्ला’लाई अस्पताल प्रशासनले पुष्टि नगरेका कारण सबैको ध्यान अस्पतालतिर सोझिएको छ ।
सर्वत्र चासोबीच अस्पताल प्रशासनले आज बिहानसम्म देवकोटाको स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी दिने आशा गरिएको छ । विगत केही समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको ५ महिनासम्म बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराएर गत बैशाखमा नेपाल ल्याइएको थियो । बाँकी उपचार स्वदेशमै गर्ने देवकोटाकै इच्छाअनुसार उनलाई नेपाल ल्याइएको थियो ।