०३ असार २०८३, बुधबार

मुख्य समाचार : विदेश भ्रमणमा कडाइ, जन्मस्थलको पानी खाएर फर्किए डा. देवकोटा

मुख्य समाचार : विदेश भ्रमणमा कडाइ, जन्मस्थलको पानी खाएर फर्किए डा. देवकोटा

काठमाडौं, २७ जेठ–सरकारले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको छ । वर्षमा अधिकतम तीनपटकभन्दा बढी विदेश भ्रमण गर्न नपाउने गरी संघीय मामिला मन्त्रालयले ‘स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणसम्बन्धी कार्यविधि’ तयार गरेको छ । 

संघीय मामिलामन्त्री लालबाबु पण्डित र मन्त्रालयका अधिकारीले भ्रमणलाई व्यवस्थित र मर्यादित बनाउन यस्तो प्रस्ताव गरिएको बताएका छन् । पदाधिकारी र कर्मचारी संघीय सरकारलाई थाहै नदिई आफूखुसी औचित्यहीन कार्यक्रममा विदेश जाने क्रम बढेपछि कार्यविधि बनाएर नियमन गर्न खोजिएको मन्त्रालयले जनाएको छ ।

कार्यविधिमा पटक–पटक गरी वर्षमा २१ दिन मात्र विदेशमा रहन सक्ने प्रस्ताव गरिएको छ ।, पत्रपत्रिकामा खबर छ ।

तीन तहका सरकारबीच विवाद छैनः ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारबीच विवाद नरहेको बताउनुभएको छ । प्रदेश नम्बर १ को प्रदेशसभा बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै तहका सरकारबीच विवाद रहेको अफवाह फैलाउन लागेको भन्दै त्यसको बचाउ गर्नुभएको हो ।

पौने दुई घण्टा लामो भाषणको अधिकांश समय प्रदेश १ का विकासका सम्भावना बारे खर्चिएका प्रधानमन्त्री ओलीले जनताको अपेक्षा पूरा हुने गरी काम गर्न प्रदेश सांसदलाई आग्रह गर्नुभयो । प्रदेश १ लाई प्रकृतिले समेत माया गरेकाले यसलाई समृद्ध बनाउन सबै लाग्नुपर्नेमा उहाँको जोड थियो । 

जन्मस्थलको पानी खाएर फर्किए डा.देवकोटा
वरिष्ठ न्यूरोसर्जन प्रा डा उपेन्द्र देवकोटालाई शनिबार उनको जन्मस्थल गोरखा आँपपिपलस्थित बाहुनडाँडा लगेर पुनः काठमाडौँ ल्याइएको छ । पित्तनलीको क्यान्सरका कारण गम्भीर अवस्थामा रहनुभएका डा देवकोटाको इच्छाबमोजिम दिउँसो गोरखा जन्मघर पुर्याई सिस्नेधाराको पानी खुवाएर एक घण्टा राखेपछि पुनः काठमाडौँ ल्याई बाँसबारीस्थित न्यूरो अस्पतालको सघन कक्षमा राखिएको छ । 

डा देवकोटालाई हेलिकोप्टरमा सबै मेडिकल उपकरणको व्यवस्था गरेर गोरखा लगिएको थियो । उनीसँगै गोरखा गएका मेडिसिटी अस्पतालका इमर्जेन्सी विशेषज्ञ डा सञ्जय कार्कीका अनुसार घर नजिकै हेलिकोप्टर अवतरण गरी विशेष खालको म्याट्रेसमा राखेर ३५ मिनेट बोकेर बाहुनडाँडास्थित घर पुर्याइएको थियो । 

डा देवकोटाले आफूलाई भेट्न आएका बृद्धबृद्धालाई हात दिएर तथा बच्चाको टाउकामा हात राखेर खुसी व्यक्त गरेका थियो । जन्मस्थान पुगेपछि डा देवकोटाले आफ्नो वरिपरि रहेकालाई हेरेर ‘आइ फिल भेरी ह्याप्पी’ र ‘आइ फिल एमेज्ड’ (म अत्यन्त खुशी छु) भन्दै खुसी व्यक्त गरेको डा कार्कीले बताए ।

कर्णालीको नीति तथा कार्यक्रम
कर्णाली प्रदेश सरकारले शनिबार आव २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

नीति तथा कार्यक्रममा विकास र सुशासनसहितको समृद्ध कर्णाली प्रदेशका लागि शान्ति, समृद्धि र समतामूलक समाज निर्माणमार्फत् न्यायपूर्ण एवं समावेशी समाजवादी व्यवस्थाको आधार तयार गर्ने परिकल्पना राखिएको छ । 

अठार पृष्ठ लामो १७५ बुँदे नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, “१० वर्षभित्र कर्णाली प्रदेश समृद्ध बन्नेछ । जनताका आकाङ्क्षा, आवश्यकता, आवाजमा आधारित वैज्ञानिक योजना निर्माण र त्यसको कार्यान्वयनको माध्यमबाट आगामी पाँच वर्षमा कर्णालीका जनताको प्रतिव्यक्ति आय रु दुई हजार १०० डलर पुर्याइने छ ।”

प्रदेश नं ७ को नीति तथा कार्यक्रम सार्वजनिक
प्रदेश नं. ७ को सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा कृषि, जडीबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी विकास र समृद्धिको ढोका खोल्ने नीति लिइएको छ ।

प्रदेशसभा भवन, धनगढीमा बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले आव २०७५÷०७६ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

प्रस्तुत नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी, सहकारी तथा सामुदायिक क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने, प्रदेश सरकारको योजना बैंकको रूपमा ‘व्यवसायिक सहयोग केन्द्र’ स्थापना गरिने, सञ्चालन नगरिएका वा स्रोतको अभाव भई सम्पन्न हुन नसकेका आयोजना तथा परियोजनाको लागत, प्रतिफल, अनुकूलता र सामाजिक दायित्वका आधारमा प्राथमिकीकरण गरी आवश्यक स्रोत उपलब्ध गराउनेमा जोड दिइएको छ । 

प्रदेश नं ५ मा नीति तथा कार्यक्रममाथि छलफल शुरु 
प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल शनिबारदेखि शुरु भएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अधिकांश प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्र विकास कोष र संसदीय विकास कोष अविलम्ब लागू गर्न आग्रह गरेका छन् । 

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले वित्त व्यवस्थापन विधेयक, २०७५ र प्रदेश नं ५ प्रदेश कर गैरकर राजश्वसम्बन्धी विधेयक, २०७५ प्रदेशसभामा पेश गरेका छन् । 

ढल्केवरमा तीनदिनदेखि हात्ती आतंक
धनुषाको मिथिला नगरपालिका–७, ढल्केवरमा तीन दिनदेखि जंगली हात्तीले आतंक मच्चाएको छ । गत बुधबार राति जंगलबाट गाउँ पसेका तीन हात्तीले दुई घर भत्काउनुका साथै किसानको बालीनाली समेत नष्ट गरेका छन् ।

अहिलेसम्म ढल्केवर, एक्लेबर र केवलीपुर गरी तीन टोलमा दुई दर्जनभन्दा बढी घरमा हात्तीले क्षति पु¥याएको छ भने किसानको बालीनालीलाई समेत नष्ट गरेको छ । ती हात्तीलाई इलाका प्रहरी कार्यालय, ढल्केवरका प्रहरीले पाँच राउण्ड हवाई फायर गरी धपाएर जंगल छिराएको थियो ।

राष्ट्रकविको स्वास्थ्यमा सुधार 
राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार भएको उनका छोरा इन्दिवर घिमिरेले जानकारी दिए । 

गत जेठ १९ गते मेदान्तबाट उपचार गराएर फर्किएका राष्ट्रकवि घिमिरे पुनः सोही दिनदेखि नै सानो आन्द्राबाट रक्तश्राव हुन थालेपछि गत जेठ २१ गते मेदान्तमा उपचारका लागि पुनः लगिएको थियो ।

राष्ट्रियसभा नियमावली सर्वसम्मत अनुमोदन हुने 
राष्ट्रियसभा नियमावली २०७४ आइतबार सर्वसम्मत रुपमा अनुमोदन गर्ने तयारी भएको छ ।

चितवनमा शनिबार पत्रकारसँग कुराकानी गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सबै दलको सहमतिमा शुक्रबार प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली २०७४ अनुमोदन भएको भन्दै आइतबार राष्ट्रियसभाले पनि आफ्नो नियमावली अनुमोदन गर्ने बताउनुभयो ।

उहाँले फौजदारी अभियोग लागेका सांसदको संसद्मा मतदान हुँदा सांसदको संख्या गणना हुने तर मतदान गर्न नपाउने बताउनुभयो ।  

४७ नक्कली विद्यार्थी पक्राउ 
महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

परिसरका प्रवक्ता मोहनकुमार थापाले सातवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा जाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जानकारी दिए ।


नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई
नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बट्टारस्थित खेल मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पहिलो नुवाकोट गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको हो ।

नेपाल पुलिसलाई विजयी गराउन खेलको दोस्रो हाफको ५३ औँ मिनेटमा रवि पासवानले गरेको गोल निर्णायक भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्