१० साउन २०८३, आइतबार

प्रचण्डले भने- 'सुशासन र स्थिरताका लागि एक भयौं'

प्रचण्डले भने- 'सुशासन र स्थिरताका लागि एक भयौं'

विराटनगर, २७ जेठ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एक भएको बताएका छन् ।

उद्योग संगठन मोरङ स्वर्ण जयन्ती समापन समारोह एवं ४६औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता र नयाँ राजनीतिक प्रक्रिया शुरु भइसकेपछि सबैभन्दा बढी उद्योग संगठनका पदाधिकारीहरुसँग छलफल गरेको जानकारी दिँदै निजी क्षेत्रसंगको सहकार्यबिना मुलुकमा आर्थिक विकास गर्न सम्भव नभएको बताए ।

उनले राजनीतिक स्थिरता कायम गर्न आफूले साहसिक निर्णय गरेको र यसैको उपजबाट दुवै कम्युनिष्ट पार्टी एक भएको भन्दै राज्यमा ठूला–ठूला परिवर्तन राजनीतिक पार्टीहरुको एकता र सहकार्यबाट नै सम्भव भएकोमा जोड दिए ।

अध्यक्ष प्रचण्डले शान्ति सम्झौतापछि १० वर्ष संविधान र लोकतान्त्रिक संरचना निर्माण गर्नमा समय खर्च भएको विचार राख्दै अबको दशकमा विकास निर्माण र समृद्धिका लागि संकल्प गर्न सबैसँग आग्रह गरे । 

राजनीतिक चेतना र आर्थिक विकासको क्रियाकलापमा अग्रणी भूमिका निर्वाह गरेको विराटनगरवासीले अब आर्थिक विकासको संकल्प लिनुपर्ने समय आएको बताउंदै उनले चीनसँगको आर्थिक र व्यापारिक साझेदारी कायम गर्न किमाथाङको बाटो बन्नुपर्नेमा जोड दिए ।

उनले सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति, युवालाई रोजगार, बन्द उद्योग सञ्चालन र नयाँ उद्योग स्थापना गर्न कोशेढुंगा बन्ने भन्दै नयाँ बजेटले आर्थिक स्थिति सुदृढ गर्ने र व्यापार घाटा कम गर्ने सिद्धान्तबाट प्रेरित भएर आएको जानकारी दिए । 

भारत–चीन दुवै देशका नेता तथा जनताले नेपालको विकास र समृद्धि होस् भन्ने चाहेको बताउँदै अध्यक्ष प्रचण्डले कृषिमा आधारित उद्योगलाई प्राथमिकतासाथ अघि बढाउनुपर्छ, भने । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रसँग साझेदारी तथा हातेमालोबिना आर्थिक विकास सम्भव नभएको बताए ।

जिल्ला उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्यायले संगठनको गतिविधिबारेमा जानकारी गराएका थिए ।

उद्योग तथा व्यापारमा उल्लेखनीय योगदान पुर्‍याउने महेन्द्र गोल्छा, जुद्धबहादुर श्रेष्ठलाई मरणोपरान्त सम्मान गर्नुका साथै संगठनलाई सहयोग गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, सञ्चारकर्मी नवीन कर्ण, गणेश लम्साल, सच्चितानन्द यादव, बज्रभूषण चौधरीलगायतलाई सम्मान पनि गरिएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्