काठमाडौं, २९ माघ– बरियताक्रम अनुसार नेपाल प्रहरीको आइजीपी नियुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट परेको छ ।
प्रहरी डीअाजीहरू क्रमशः सिलवाल, अर्याल, चन्द र भण्डारीअधिवक्ता कपिलदेव भट्टले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिट दर्ता भइसकेको र आइतबार त्यसमाथि प्रारम्भिक सुनुवाई हुने सर्वोच्च अदालतका रजिष्ट्रार नृपध्वज निरौलाले लोकान्तरलाई जानकारी दिए । रिटमा वरिष्ठता, योग्यता र प्रचलित विधि प्रक्रिया मिचेर प्रहरी प्रमुख नियुक्त गर्न नहुने उल्लेख छ ।
सरकारले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोडबलमा तेस्रो बरियतामा रहेका डिआईजी जयबहादुर चन्दलाई आइजीपीमा नियुक्ति गर्ने तयारी गरेको भनिएको बेला सर्वोच्चमा रिट परेको हो । सरकारले आइतवार क्याबिनेट बैठकबाट नयाँ आइजीपी नियुक्ति गर्ने तयारी गरेको समाचारहरु सार्वजनिक भएका छन् ।
अहिलेका आइजीपी उपेन्द्रकान्त अर्यालले २ गतेदेखि अवकास पाउने भएसँगै अब चार डीआइजीमध्येबाट एक जना आइजीपी हुनेछन् ।
नेपाल प्रहरीको डिआइजीमा पहिलो नम्बरमा नवराज सिलवाल, दोस्रो नम्बरमा प्रकाश अर्याल, तेस्रो नम्बरमा चन्द र चौथो नम्बरमा बमबहादुर भण्डारी रहेका छन् ।
बरियताअनुसार एक नम्बरमा रहेका सिलवाललाई पाखा लगाएर तेस्रो बरियताका चन्दलाई देउवाको जोडबलमा आइजीपी बनाउने तयारी गरेको भनिएसँगै रिट परेको हो ।