
काठमाडौं, २९ जेठ - पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकट विद्यार्थी संगठनहरू नै सडकमा उत्रिएका छन् ।
नेपाल आयल निगमले स्वचालित भन्दै निरन्तर मूल्यवृद्धि गरेपछि सत्तारुढ दलका विद्यार्थी संगठनसहित संयुक्त विद्यार्थी संगठनले सडक बहस कार्यक्रम आयोजना गरे ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले नेपाली जनताको जनजीवन अस्तव्यस्त भएको भन्दै उनीहरूले सबै उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे ।
मूल्य प्रणालीमा अनेक किसिमको करको बाहनामा भारतबाट सस्तोमा ल्याएर यहाँ महंगोमा बेच्ने गरेकोप्रति उनीहरूको आपत्ति छ ।
कार्यक्रममा बोल्दै नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाहीले विभिन्न बाहनामा कर जोडेर सस्तोमा ल्याएको तेल नेपालमा मंहगोमा बेच्नु सरासर अपराध भएको बताए ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले कालो बजरीयाको चलखेल बढेकोले सडकमा उत्रिनुपरेको बताए ।
आन्दोलनमा अनेरास्वियु र अनेरास्ववियु क्रान्तिकारी, नेविसंघ, अखिल छैटौंलगायत विद्यार्थी संगठन सहभागी छन् ।