०८ असार २०८३, सोमबार

प्रमुख समाचार : बैंकहरुले धमाधम बढाउन थाले ब्याजदर, परमाणु हतियार त्याग्ने किमको बाचा

प्रमुख समाचार : बैंकहरुले धमाधम बढाउन थाले ब्याजदर, परमाणु हतियार त्याग्ने किमको बाचा

काठमाडौं, ३० जेठ–जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो । 

तर मङ्गलबार बिहान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको पहिलो बैठकमै उत्तर कोरियाली नेता किम जोङ् उन आणविक निशस्त्रीकरणमा सहमत भएपछि त्यो प्रतिक्षाको अन्त्य सुखद हुन पुगेको हो । ट्रम्पसँगको वार्तामा किमले आणविक निशस्त्रीकरणमा सहमति जनाएसँगै विश्वभरबाट विभिन्न प्रतिक्रिया आएका छन् । 

जापानले परमाणु हतियार त्याग्ने प्रतिबद्धता राम्रो भएको प्रतिक्रिया दिएको छ । चीनले चाहिँ निशस्त्रीकरणको आधारभूत सहमति बन्नेमा आशा व्यक्त गरेको छ । यसैगरी दक्षिण कोरियाले दुई कोरिया र अमेरिकाले नयाँ इतिहास रच्ने बताएको छ । यता रुसले भने सम्झौता सकारात्मक भएपनि रहस्यमयी भएको टिप्पणी गरेको छ । 

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको वार्ताको स्वागत गरेका छन् ।  उनले सम्मेलन कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्नका लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गरेका छन् । 
 

वार्ताको नेपालबाट पनि स्वागत
नेपाल सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका अध्यक्ष किमजङ उनबीच सिंगापुरमा भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त वक्तव्यको स्वागत गरेको छ । 

शिखर वार्ता र संयुक्त वक्तव्यमा उल्लिखित विषयको कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त भएको विश्वास नेपालले गरेको छ । 

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेर कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम हुने विश्वास व्यक्त गरेको हो । 

प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिश
संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीश पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिश गरेको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको बैठकले भावी प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिश गरेको बैठकपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले जानकारी दिए । 

गत चैतमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि सो पद रिक्त रहेको छ । कामु प्रधानन्यायाधीशको रुपमा वरिष्ठतम् न्यायाधीशको हैसियतले जोशीले काम गर्दै आएका छन् ।  


बैंकले ब्याजदर बढाउन थाले
वाणिज्य बैङ्कहरूले निक्षेपको ब्याजदर  बढाउन थालेका छन् । यसअघि बैंकहरुबीच मनपरी ब्याजदर नबढाउने गरी भएको भनिएको भद्र सहमतिलाई तोड्दै आफू अनुकूल ब्याज बढाउन थालिएको हो । 
एनआईसी एसियाले मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत पु¥याएको छ । यता, सिभिल बैङ्कले पनि मुद्दती निक्षेपको ब्याजदर १२.२२ प्रतिशत पु-याएको छ । सिभिलले बचतमा पनि १० प्रतिशत ब्याजदर पु¥याएको छ ।
बैङ्किङ प्रणालीमा  लगानीयोग्य रकमको अभाव भएको भन्दै धमाधम ब्याजदर बढाएका बैङ्कहरू ब्याजदर बढाउँदा समेत सोचे अनुसारको निक्षेप सङ्कलन नभएपछि गत पुसमा मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा माथि नजाने भद्र सहमति गरेका थिए । त्यही सहमतिलाई केहि महिना पहिले तोड्दै एनआईसी एसिया बैङ्कले ब्याजदर बढाएपछि बैङ्कहरूले एनआईसीसँग अन्तरबैङ्क कारोबार नै नगर्ने चेतावनीसमेत दिए । राष्ट्र बैङ्कसमेतको सहभागितामा एनआईसी एसिया ब्याक भएपछि सो विवाद मिल्यो । तर अप्रत्यक्ष रूपमा बैङ्कहरूले ब्याजदर भने बढाइ नै रहे । एनआईसी एसियालाई सङ्घले ब्याजदर वृद्धिमा लगाएको रोकलाई कतिपयले ब्याजदरमा सिन्डिकेट लादेको आरोपसमेत लगाए ।  अन्ततः अहिले त्यही आरोप अर्थात ब्याजदरको सिन्डिकेट समेत अन्त्य भएको छ ।

सरकारमाथि खनिए देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अघि सारेको समृद्धिको नारा गफ मात्रै भएको टिप्पणी गरेका छन् । 

मंगलबार नेपाल टे«ड युनियन काँग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनताका दैनिक उपभोग्य वस्तुमा महंगी बढाएर समृद्धि नआउने बताए ।  

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सरकारले देखाएको व्यवहारले सरकार राष्ट्रवादी नभएको आरोप लगाउँदै सभापति देउवाले प्रश्न गरे, “पहिले अरुण तेस्रो जलविद्युत परियोजना हुन नदिने अहिले त्यही परियोजना भारतलाई बोलाएर उद्घाटन गर्न लगाउने, यो कस्तो राष्ट्रवाद हो ?” 

पार्टीभित्रको विवादका सम्बन्धमा उनले आफूलाई गाली गरेर पार्टी बलियो नहुने भन्दै मुलुकमा देखिएको चुनौतीको सामना गर्न एकढिक्का भएर काँग्रेसलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा नेविसंघको विरोध
नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ । 

ग्रामीण आदर्श क्याम्पस, मनोहर क्याम्पस र एनआर क्याम्पसको आयोजनामा गोँगबु चोकमा भेला भएका नेविसंघका नेता तथा कार्यकर्ताले सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले मूल्यवृद्धिसम्बन्धी आन्दोलन नेविसंघको मात्र सबै नेपालीको भएको बताए । 
नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए ।  पछिल्लो मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य रु ११५ र डिजेलको मूल्य रु ९५ पुगेको छ । 

वैदेशिक रोजगारीमा जाने संख्या ह्वात्तै बढ्यो
स्वदेशमा रोजगारीको अवसर नभएपछि २०४६ पछि वैदेशिक रोजगारीमा जानेको संख्यामा हजारौँ गुणाले वृद्धि भएको छ । 

केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार आव २०५०÷५१ मा वैदेशिक रोजगारीमा जानेको संख्या मात्रै तीन हजार ६०५ थियो । यो संख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७४ सम्म आइपुग्दा उल्लेख्य परिवर्तन भएको छ । 

आर्थिक वर्ष २०५०/५१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन हजार ६०५ रहेकामा सो संख्या चालु आवमा आइपुग्दा यस वर्ष मात्रै तीन लाख ९८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । करिब ४५ लाख नेपाली यतिखेर वैदेशिक रोजगारीमा रहेको पाइएको छ । 

वैदेशिक रोजगारीमा गएका मध्ये आव २०५०/५१ मा ९१.८ प्रतिशत अर्थात तीन हजार ३०८ जना निःशुल्क प्रवेशाज्ञा तथा टिकट लागू भएका देश गएका थिए । यस्तो संख्या आव २०७४ मा ९४.९ प्रतिशत अर्थात् तीन लाख ७९ हजार रहेको छ ।

प्रमुख सचेतकमा प्रसाईं
राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य सरिता प्रसाईँ मनोनित भएका छन् । 

काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले प्रसाईंलाई संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरिएको जनाएका छन् । 

वेस्ट इन्डिजबाट अाएकाे वैदेशिकमा शंका
नेपालमा सर्वाधिक  प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ । 

उद्योग, व्यापार एवं औद्योगिक क्षेत्रमा लगानी गर्ने देशका रुपमा मुलुकमा विरलै सुनिएको उक्त राष्ट्रबाट प्रवाह भएको लगानीको गुणस्तरमा अर्थतन्त्रका विश्लेषकहरुले शंका गरेका छन् । 

आतंककारी वा अन्य आपराधिक गतिविधिबाट आर्जित रकम लगानी भएको हुनसक्ने आशंका गर्दै नेपाल राष्ट्र बैंकका एकजना उच्च अधिकृत नाम उल्लेख नगर्ने शर्तमा भने् – “वेस्ट इन्डिजबाट भएको लगानी कति स्वस्थकर छ भन्ने कुराको निक्र्यौल गर्न जरुरी छ ।” 

सेवा क्षेत्रमा मात्र उक्त देशबाट रु ६२ अर्ब ७७ करोड ९० लाख ७० हजार लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षमा त्यति रकम नेपालमा लगानी भएको हो ।

मनसुन पूर्ण सक्रिय भएन
नेपालमा मनसुन प्रवेशको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै मनसुन पूर्णरुपमा सक्रिय भएको छैन । 

जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते (जुन ८, २०१८ मा) नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो । 

अहिले पूर्व र मध्यका केही क्षेत्रमा सक्रिय भएको मनसुन पश्चिमसम्म फैलन अझै केही दिन लाग्ने मौसमविद् वरुण पौडेलले बाए । 


ठगी गर्ने चार युवक पक्राउ
चिठ्ठाको बहानामा सर्वसाधारणलाई ठग्ने चार युवकलाई पक्राउ गरी पर्सा प्रहरीले सार्वजनिक गरेको छ । 

चिठ्ठा तथा विभिन्न योजनाको बम्पर उपहार परेको भन्दै कर बापतको रकम बैंक खाता र आइएमआइमा जम्मा गर्न लगाई सर्वसाधारणलाई ठगी गरेको उनीहरुलाई पक्राउ गरिएको हो । 

वीरगञ्ज महानगरपालिका– १८ नगवाका अक्षयकुमार चौरसिया, वडा नं १६ का युवराज पासवान, वडा नं १९ का वीरनारायण चौरसिया र वडा नं २ छपकैयाका राहुलकुमार राउतलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । 

वीरगञ्जका एक व्यक्तिलाई २५ लाख भारतीय रुपैँयाको चिठ्ठा परेको भन्दै करबापत रु एक लाख माग गरी रकम झिक्ने क्रममा चारैजनालाई वीरगञ्जको भेडियाहीबाट पक्राउ गरिएको हो । पक्राउ परेका युवाबाट प्रहरीले रु एक लाख पाँच हजार, ठगीमा प्रयोग भएका चार थान मोबाइल, आइएमआइको सातवटा भौचर, विभिन्न बैंकका एटिएम कार्डलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखी संगठित ठगी मुद्दा चलाउने तयारी भइरहेको उपरीक्षक ढकालले बताए । 
घट्यो शेयर बजार
सोमबार केही बढेको शेयर बजार मंगलबार भने सामान्य अंकले घटेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९३ बिन्दुले घटेर एक हजार २३९.२६ बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६४ बिन्दुले घटेर २६०.४७ बिन्दुमा पुगेको छ । 

कूल १६० कम्पनीको नौ लाख ४७ हजार ३९३ कित्ता शेयर रु २९ करोड ९० लाख ९३ हजार ५७९ मूल्यमा खरिद बिक्री भएको छ । 

स्टकका अनुसार तीन उपसमूहको शेयर भने बढेको छ । फाइनान्स समूह २.१५, बीमा १.५९ र उत्पादन समूह ५.१२ बिन्दुले बढ्दा बैंकिङ २.९, होटल १४.५९, विकास बैंक ०.४७, जलविद्युत् २.२५, माइक्रोफाइनान्स १.१६ र अन्य समूहको शेयर भने स्थिर रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्