
काठमाडौं, ३० जेठ– सडक क्षेत्रका निर्माण व्यवसायीमाथि कडा रुपमा प्रस्तुत भएका गृहमन्त्री अब जलविद्युत क्षेत्रका निर्माण व्यवसायीमाथि पनि कडा रुपमा प्रस्तुत हुने भएका छन् ।
साना तथा ठूला जलविद्यूत आयोजना निर्माण गर्ने भनेर सम्झौता गरे पनि वर्षौदेखि काम नगर्ने ठेकेदारलाई तत्काल कारबाही गरिने गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले बताए ।
बुधवार गृहमन्त्रालयमा आयोजित गृह र उर्जामन्त्री सहितको बैठकले जलविद्युत आयोजना ओगटेर बसेका ठेकेदारलाई तत्काल कारबाही गर्ने निर्णय गरेको हो ।
दुवै मन्त्रालयका सचिवदेखि सह–सचिवसम्म सहभागी बैठकले विद्युत चोरी गर्ने, जलविद्युत आयोजना निर्माणमा ढिलाई गर्ने तथा विभिन्न साना जलविद्युत आयोजना निर्माण गर्ने भनेर सम्झौता गरेका तर काम नगर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको हो ।
देशका विभिन्न ठाउँका साना–तथा ठूला नदी र खोलामा विद्युत आयोजना निर्माण गर्ने भनेर सम्झौता गरेका तर काम शुरु नगरेका ठेकेदारलाई तत्काल कारबाही गरिने गृह मन्त्रालय स्रोतले जनायो । त्यसका उर्जामन्त्रालये त्यस्ता ठेकेदारको सूची गृहलाई पठाउने छ ।
उर्जाले पठाएको सूचीमा परेका ठेकेदारलाई नियन्त्रणमा लिनेदेखि अन्य कानूनी कारबाही गरिने गृह मन्त्रालय स्रोतले लोकान्तरलाई बतायो ।
बिजुली चाेरलार्इ पक्राउ गर्न सिडिओ नै खटिने
विभिन्न तराईका जिल्लामा भइरहेको विद्युत चोरी नियन्त्रण गर्न अब प्रमुख जिल्ला अधिकारी (सिडिओ) नै सक्रिय हुने भएका छन् ।
गृह मन्त्रालयले विद्युत चोरी नियन्त्रणका लागि तत्काल सक्रिय हुन सबै प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरिसकेको जनाइको छ ।
नेपाल विद्युत प्राधिकरणको जिल्ला शाखासँगको समन्वयनमा अब जिल्ला प्रशासन कार्यालयले नै विद्युत चोरी नियन्त्रण अभियान चलाउने भएको छ ।
विद्युत प्राधिकरणले विद्युत चोरी हुने ठाउँको पहिचान गरी जिल्ला प्रशासन कार्यालयलाई विवरण उपलब्ध गराउनुपर्ने छ । विद्युत प्राधिकरणले पठाएको विवरणअनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल कारबाही अगाडि बढाउने छ ।