०४ असार २०८३, बिहीबार

नेपाली वैज्ञानिक सहभागी टोलीले पत्ता लगायो ‘खतरनाक’ जीका भाइरसको औषधि

जेठ ३०, २०७५
नेपाली वैज्ञानिक सहभागी टोलीले पत्ता लगायो ‘खतरनाक’ जीका भाइरसको औषधि

काठमाडौं, ३० जेठ– नेपाली वैज्ञानिक सुदीप खड्कसहितको वैज्ञानिकहरुको समूहले जीका भाइरसको औषधि पत्ता लगाएको छ । खड्कासहितको १० जना वैज्ञानिकको टोलीले अरबिडोल÷उमिफेनोविर नामक औषधि पत्ता लगाएको हो ।  

अमेरिकाको वाशिङटन विश्वविद्यालय (डा. स्टेफेन पोल्यक ल्याब) र जर्जिया स्टेट विश्वविद्यालय (डा. क्रिस्टोफर व्यस्लेर ल्याब) मा औषधिको पुनःप्रयोग तथा पुनःप्रायोजनको लागि नेपाली वैज्ञानिक खड्कासहितको वैज्ञानिकको टोलीले अनुसन्धान गरेका थिए ।

उक्त औषधि केही मुलुकहरुमा फ्लू तथा इन्फ्लुअन्जाको उपचारको  निमित्त प्रयोगमा आइसकेको नेपाली वैज्ञानिक डाक्टर सुदीप खड्काले लोकान्तरलाई जानकारी दिए  । उनले भने, ‘पहिले नै यो औषधिको असरको बारेमा अनुसन्धान समेत भइसकेको छ । हामीले पत्ता लगाएको औषधिलाई चाडै नै जीका प्रभाभित क्षेत्रमा पुर्‍याउँन सकिन्छ भन्ने विस्वास छ ।’

उक्त औषधिले जीका भाइरस विरुद्ध प्रभावकारी काम गर्छ भन्ने पुष्टि समेत भइसकेको नेचर जर्नलको साइन्टिफिक रिपोर्टसले सन् १२ जुन २०१८ मा प्रकाशित समेत गरिसकेको छ । 

के हो जीका भाइरस ?

जीका एइडीज प्रजातिको लामखुट्टेबाट सर्ने गर्दछ । तर अन्य तरिकाबाट पनि यो भाइरस सर्ने सम्भावना रहेको बताइन्छ । नाइजेरियामा पहिलोपटक जिका भाइरस आधिकारिक रुपमा पहिचान भएको थियो ।
जीका लामखुट्टे पाइने स्थानहरुमा व्यापक रुपमा फैलिएको रोग हो ।

विश्वमा व्यापक रुपमा फैलिएको जीका बिरुद्ध यसअघि कुनै औषधि र भ्याक्सिन बनेको छैन । जीका भाईरस यौन सम्पर्क को मध्यम बाट पनि सर्छ । जीकाले भाइरसले गर्भमा रहेको भ्रूणको स्नायुको विकासमा अबरोध पुर्‍याउछ । जीका भाइरसले गर्भपतनको जोखिम समेत बढाउने  र  साथै गर्भपतनको जोखिम पनि बढाउने डा. खड्काको भनाइ छ ।

गर्भवती हुने उमेरका महिला तथा शिशु र वृद्धवृद्धाहरुमा समेत जीका भाइरसको जोखिम धेरै हुन्छ ।

विश्व स्वास्थ्य संगठनले लामखुट्टेका कारण सर्ने जीका भाइरसको कारण गर्भमा हुर्किरहेको शिशुमा शारीरिक तथा मानसिक विकाशमा अवरोध सिर्जना गरी गम्भीर समस्या तथा विकार पैदा गर्ने जनाएको छ ।

जीका भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले विश्वमा जीका भाइरस संकटकालको घोषणा समेत गरिसकेको छ । हालसम्म जीका भाइसरको संक्रमण अफ्रिका लगायतका ८ देशहरुमा फैलिसकेको छ ।   नेपाल पनि जीका फैलिने खतरा भएको क्षेत्रमा पर्छ ।

नेपालको बाग्लुङ स्थायी घर भएका डा.खड्कासहतिको वैज्ञानिकहरुको टोलीले केही समय अगाडि इबोला भाइरसको औषधि समेत पत्ता लगाएका थिए ।

को हुन् डाक्टर सुदीप?

डा.सुदीप खड्का बागलुङका पूर्वसांसद स्वर्गीय हरिबहादुर खड्का र पूर्व  गरिवी निवारण तथा सहकारी राज्यमन्त्री चम्पादेवी खड्काका जेठा छोरा हुन् । शिक्षित परिवारमा जन्मिएका खड्का सानैदेखि अन्तरमुखी स्वभावका थिए । आधारभूत शिक्षाको सुरुवातमा नै उनी अन्य पुस्तकहरु पढ्न रुची राख्थे । 

वैज्ञानिक बन्ने सपना लिएका सुदीपले घरमा रहेको घडी, रेडियो टिभी फुकालेर फेरी बनाउने प्रयास गरीरहन्थें । 

उनले बाल्यकालको घटना सम्ंझर्दै लोकान्तरसँगको कुराकानीमा भने, ‘मलाई साइन्टिस्टहरुको बारेमा लेखिएको पुस्तक पढ्न रमाइलो लाग्थ्यो । एकदिन पत्रिकामा एकजना २६ वर्षमै पीएचडी गरेका वैज्ञानिकको बारेमा समाचार पढें । त्यो समाचारले मलाई प्रभावित बनायो । समाचार पढेपछि मलाई पनि वैज्ञानिक बन्नुपर्छ भन्ने लाग्यो । मैले ठूलो भएपछि साइन्टिस्ट बन्छु भन्थे ।’

बागलुङमा कक्षा सातसम्म पढेका खड्काले आठ कक्षाबाट काठमाडौंको ग्यालेक्सी स्कुलमा अध्ययन गरे । उनले सोही स्कुलबाट एसएलसी दिएका हुन् ।  एसएलसी पछि काठमाडौं विश्वविद्यालयबाट खड्काले आइएस्सी गरे । 

आइएस्सीमा राम्रो अंक आएपछि घरपरिवारले सुदीपलाई डाक्टर बनाउने सपना लिए । तर सुदीपले सानैमा वैज्ञानिक बन्ने सपना बनाइसकेका थिए ।

एमबिबिएस पढाएर छोरालाई डाक्टर बनाउने सुदीपको बुवाआमाको सपना थियो । एमबिबिएस पढाउने बुवाको निर्णयलाई सुदीपले अस्वीकार गरीदिए । डाक्टरले बिरामीको स्वास्थ्य परीक्षण गरेर अरुले पत्ता लगाएर तयार भएको औषधि खानु भन्ने सल्लाह दिन्छन् । तर सुदीपलाई आफैले नयाँ औषधि पत्ता लगाउने चाहना थियो । 

बुबाको डाक्टर बनाउने सपनालाई त्यागेर सुदीप सन् २००३ मा अमेरीका गए । नेपालमा एमबिबिएस भर्ना भएको वर्ष दिन नपुग्दै साइन्टिस्ट बन्न अमेरिका पुगेका सुदीपले अमेरिकामै पीएचडी गरे । 

त्यसपछि उनलाई अमेरीकामा धेरै अवसरहरु पाप्त भयो । उनले आफ्नो वैज्ञानिक बन्ने सपनालाई पुरा गर्न सफल भए । तीन वर्ष अगाडि अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा भाइरसको विषयमा अनुसन्धान गर्ने अवसर पाए । उनीले त्यो अवसरलाई निकै महत्त्वपूर्ण रुपमा लिए । 

यो पनि पढ्नुहोस्

अमेरिकामा इबोलाको औषधि पत्ता लगाउने वैज्ञानिक सुदीपको योजना– नेपाल फर्किएर राजनीति गर्ने !

 

salt training

कमेन्ट गर्नुहोस्