०३ असार २०८३, बुधबार

स्विडेन सरकारसँग कुरा गरेर भए पनि टेलियालाई लाभकरमा जिम्मेवार बनाइने

कात्तिक २०, २०७४
स्विडेन सरकारसँग कुरा गरेर भए पनि टेलियालाई लाभकरमा जिम्मेवार बनाइने
काठमाडौं, १ फागुन –ठूला करदाता कार्यालयले एनसेलको सेयर बिक्री कारोबारमा लाग्ने पूँजीगत लाभकरको दायित्वबाट टेलियासोनेरा (हाल टेलिया कम्पनी) उम्कन नसक्ने बताएको छ । आवश्यक परे स्विडेन सरकारसँग सरकारी स्तरमा छलफल गरेर भए पनि कर तिराउनका लागि टेलियालाई जिम्मेवार बनाउने तयारी भईरहेको जनाएको छ ।
ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलले स्वीडेनको राष्ट्रिय टेलिभिजन एसभिटीले बिहीवार प्रसारण गरेको अनुसन्धानमूलक कार्यक्रम अप्पड्राग ग्रान्स्कनिङ (मिसन रिभ्यु) मा उक्त कुरा बताएका हुन् । ‘एनसेलको कारोबारमा लाभकर लाग्छ,’ पौडेलले उक्त कार्यक्रममा भनेका छन्,, ‘अहिले अनुसंधानको चरणमा छौं । टेलियाले कर तिर्नु पर्छ,’

नेपालको एक प्रमुख दूरसंचार सेवाप्रदायक एनसेलको स्वामित्व हन्तान्तरणमा बिक्रेता टेलियाले हालसम्म पनि कारोबारको कर विवरण बुझाएको छैन । उसले होल्याण्ड, क्यारेबियन र नर्वेमा रहेको जटिल कर्पोरेट ढाँचा मार्फत नेपालको स्वामित्व राखेको थियो । त्यसैले शेयर कारोबारमा पूँजीगत लाभ भएको अवस्थामा त्यसको कर आफूले नर्वेमा तिर्ने अडान राख्दै आएको छ ।

उक्त कार्यक्रममा टेलियाका कार्यकारी प्रमुख योहान डेनेलिन्ड यही अडान दोहोर्याएका छन् । नेपालसँग नर्वेको दोहोरो कर उन्मुक्ति सम्झौता रहेको उल्लेख गर्दै उनी भन्छन् ‘हामी कर तिर्छौ यदि कानूनी आधार छ भने मात्र । कानूनी आधार नभएकाले कर तिर्नु कुनै विकल्प होइन र हामी माथि करको दाबी भएको पनि छैन ।’

नेपालमा संसदीय समिति देखि कर विज्ञसमेतले एनसेलतर्फ लाभकरको दायित्व स्थापित गर्न प्रयास गरिरहँदा कसैले पनि टेलियालाई उत्तरदायी बनाउन पहल नगरेको पनि उक्त कार्यक्रममा उल्लेख गरिएको छ ।

केही दिनअघिमात्र व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले सरकारलाई एनसेलको सेयर कारोबारको लाभकर तीन महिनाभित्र उठाउन निर्देशन दिएको छ ।

‘कारोबार सम्पन्न हुनेबित्तिकै हामीलाई नेपालको कर कार्यालयबाट कारोबार विवरण माग भएको थियो । हामीले तुरुन्तै उक्त कारोबारको विवरण दिन कानूनतः बाध्य नभएको जानकारी गरायौं । त्यसपछि हामीले कुनै पत्र पाएका छैनौं,’ डेनेलिन्डले सो कार्यक्रममा भनेका छन् ।

तर उक्त कार्यक्रममा अर्थमन्त्री कृष्ण बहादुर महरा, पूर्व अर्थ सचिव तथा मुख्य सचिव बिमल कोईराला, पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्व अर्थ सचिव विद्याधर मल्लिक लगायतले एकै स्वरमा टेलियाले लाभकर तिर्नु पर्ने बताएका छन् । ‘लाभकर लाग्छ, टेलिया यसबाट उम्कन सक्दैन,’ महराले भनेका छन् ।

स्वीडेनको राष्ट्रिय टेलिभिजन एसभिटी कार्यक्रममा प्रस्तोता भन्छन्, ‘नेपालको आयकर ऐनले विदेशी स्वामित्वका लागि पनि नेपालमा आय गर्ने व्यावसायिक गतिविधि वा लगानी छ भने कर दायित्व स्थापित रहन्छ भन्ने स्पष्ट उल्लेख गरेको ।’ कार्यक्रमले टेलियालाई जिम्मेवार हुन तथा उत्तरदायीत्व बहन गर्न पनि सुझाव दिएको छ ।

टेलियाले भने आफूलाई आफूले कुनै गल्ती नगरेको र नेपालमा कर तिर्न बाध्य पनि नभएको दावी गरेको छ । ‘सहि सँधै सहि नै हुनुपर्छ । हामी कर तिर्छौ यदि कानूनी आधार छ भने,’ उसले भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्