०६ साउन २०८३, बुधबार

सेनाको खतरनाक हर्कत : ८ करोड बजेट लुकाएर असारमा ताल मर्मत !

असार २, २०७५
सेनाको खतरनाक हर्कत : ८ करोड बजेट लुकाएर असारमा ताल मर्मत !

धनगढी, २ असार – नेपाली सेनाको कालीरक्षा गण बडैपुरले असार शुरू भएपछि बल्ल तालको मर्मतसम्भार शुरू गरेको छ ।

कैलालीको कैलारी गाउँपालिका–९ स्थित कोइलही तालको दोस्रो चरण अन्तर्गत सेनाले असार लागेपछि मात्रै मर्मत सम्भारको काम शुरू गरेको हो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको ताल तलैया एवं सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत गत वर्षदेखि तालको स्तरोन्नति तथा ताल क्षेत्रमा भौतिक संरचना निर्माणको काम सेनाले गर्दै आएको छ ।

गत वर्ष १ करोड बराबरको विभिन्न संरचना निर्माण गरेको सेनाले चालू आर्थिक वर्षमा बजेटबारे कसैलाई जानकारी नदिई काम थालेको छ । यहाँसम्मकी के–के संरचना निर्माण हुनेबारे स्थानीयलाई समेत एकिन जानकारी दिइएको छैन । बजेट र निर्माण हुने संरचनाबारे लोकान्त्तर डटकमले बुझ्न खोज्दा कालीरक्षा दलका कर्नेल सुरेश थापाले सेनाको संगठनिक संरचनालाई देखाउँदै बजेट र निर्माण हुने संरचनाबारे जानकारी दिन मानेनन् ।

‘बजेटबारे हामीभित्र जो कोहीले भन्न मिल्दैन । कि त राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिलाई नै बजेट र निर्माण हुने संरचनाबारे बुझ्नुपर्यो,’ कर्नेल थापाले भने । चालू आर्थिक वर्षमा असार लागेपछि काम शुरू भएपछि र बजेटबारे स्पष्ट जानकारी नदिँदा स्थानीयहरू पनि सशकित भएका छन् ।

‘के–के निर्माण हुँदैछ ? यकिन जानकारी दिइएको छैन । असारमा गरेको कामको गुणस्तर कस्तो होला ? बुझ्नै सकेका छैनौ,’ स्थानीय कोइलही ताल संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष सिहिलाल चौधरीले भने, ‘पानी गेट, सानो पुल, बगैचा, पिकनिक स्पट बनाउने कुरा मात्रै सुनेको छु ।’

गत वर्ष प्रशंसनीय काम

गत वर्ष सेनाले सो तालको सरसफाईसँगै विभिन्न संरचना निर्माण गरेर स्थानीयको मन जितेको थियो । तर, चालू आर्थिक वर्षमा भने सेनाको कार्यशैलीप्रति स्थानीय जनता असन्तुष्ट बनेका हुन् ।

गत वर्ष पुरिन थालेको उक्त प्राकृतिक तालको माटो निकाल्ने, परिपरि ड्याम निर्माण गर्ने, पिकनिक स्पट, आरामदायी घर, बगैंचा, पार्क निर्माण गरेको छ । ताल क्षेत्रमा पर्यटकको सुविधालाई मध्यनजर गरी २ वटा पिकनिक घर, खाना पकाउने तथा मासु पोल्ने भाँडो, शौचालय, ताल वरिपरी ग्राबेल बाटो समेत निर्माण गरेको हो ।

साथै, ७२ हेक्टरमा फैलिएको तालको शैयर गर्न ४ वटा डुंगाको व्यवस्था गरेको थियो भने दृष्यावलोकनको लागि ३० फिट अग्लो भ्यू टावर निर्माण गरेको थियो । वरिपरि ११ वटा सिमेन्टे कुर्सीसहित छाताको टेन्ट तथा प्रतिक्षालय, काठे पुल, बालबालिकालाई लक्षित गरी ‘चिल्ड्रेन पार्क’ पनि निर्माण गरेको थियो ।

ताल धनगढीदेखि करीब ४७ किलोमिटर र पूर्वपश्चिम राजमार्ग अन्तर्गत राजीपुर बजारदेखि दक्षिण ७ किलोमिटरको दुरीमा अवस्थित छ ।

४ ताललाई ८ करोड, फ्रिज जाने सम्भावना

असार शुरू भएपछि काम थालेको सेनाले बजेट र निर्माण हुने संरचनाबारे सूचना उपलब्ध नगराएपछि लोकान्तरले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिलाई सम्पर्क गरेको थियो । समितिका सदस्य विदुर भारतीले तलैया एंव सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत देशभरका ४ तालको स्तरोन्नति तथा मर्मत सम्भारको काम चालू आर्थिक वर्षमा भइरहेको जानकारी दिए । 

कार्यक्रम अन्तर्गत कैलालीको कोइलही ताल, बर्दियाको बढैया ताल, रुपन्देहीको गजेरी ताल र सिराहाको कमल दहमा काम भइरहेको जानकारी दिए । ४ वटै तालको लागि ८ करोड रुपैयाँ बजेट विनियोजन भएको बताउँदै उनले सबै तालमा असारदेखि नै काम शुरू भएको पनि उल्लेख गरे । उनको अनुसार १ ताललाई १ करोड ७६ लाख बजेट हुन आउँछ ।

तर, आर्थिक वर्ष सकिन धेरै दिन बाँकी नहुँदा बजेट उत्तिकै फ्रिज जाने सम्भावना बढेको समितिका सदस्य भारती बताउँछन् । वर्षात्को समयमा काम हुने हुँदा कामको गुणस्तरप्रति अहिले नै स्थानीयहरू आशंका गर्न थालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्