
काठमाडौं, २ असार – प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा नेपाल–चीनबीच पारवहन तथा यातायातसम्बन्धी सन्धिमा हस्ताक्षर हुन सक्ने प्रवल सम्भावना रहेको परराष्ट्र मामिलाका जानकारहरूले संकेत गरेका छन् ।
आज काठमाडौंमा आयोजित साक्षात्कारमा नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले आगामी मंगलबारबाट हुने प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा पारवहन र यातायात क्षेत्रमा सहयोग आदानप्रदान सन्धिमा हस्ताक्षर हुने बताए । ‘नेपाललाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सन्दर्भमा प्रधानमन्त्रीको आगामी चीन भ्रमण ऐतिहासिक कोशेढुङ्गाको रुपमा सावित हुनेछ, पारवहन तथा यातायात क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा काजगपत्रको आदानप्रदान भइरहेको छ,’ उनले भने ।
नेपालमा राजनीतिक स्थिरता कायम भई अत्याधिक जनाधार सहितको सरकार गठन भएको हुँदा विकास र समृद्धिका लागि चीनको सडक, रेल, ऊर्जा, सिँचाइ, पर्यटनलगायत पूर्वाधार क्षेत्रमा लगानी र सहयोग हुन सक्ने बताउँदै नेता डा. भट्टराईले समुद्रको तटसम्मको पहुँच नेपालको अधिकार मात्र नभई प्राथमिकताको विषय हो भन्ने पक्षलाई छिमेकी चीनले बुझेको बताए ।
पूर्वराजदूत डा. सुरेश चालिसेले राजनीतिक स्थायित्वपछि गठन भएको वर्तमान सरकारको विकास र समृद्धिको नारालाई सार्थकता प्रदान गर्न राम्रो कुटनीतिक प्रयोग भएमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमण निकै उपलब्धिमूलक हुन सक्ने बताए । ‘नेपालको पर्यटन, ऊर्जा, कृषि, जलस्रोत र पूर्वाधार विकासमा चीनलाई विकासको साझेदार बनाउनुपर्छ, समृद्धि र विकासमा एकढिक्का भएर अघि बढ्नुपर्ने बेलामा राजनीतिक प्रणाली र सिद्धान्त फेरबदलको कुरा उठाउँदा लगानी र सहयोगको उत्साहमा कमी आउने सक्ने पक्षलाई हेक्का गर्न आवश्यक छ,’ उनले भने ।
अर्का पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले नेपालको समृद्धिका लागि चीनलाई विकासको साझेदार बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । ‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा पारवहन र यातायातका विषयमा सन्धिमा हस्ताक्षर हुनुपर्दछ,’ उनले भने, ‘नेपालको व्यापार घाटालाई सन्तुलन ल्याउन तथा निर्यात बढाउन कृषि, उद्योग र उत्पादनका क्षेत्रमा संयुक्त लगानी प्रवद्र्धन गर्नुपर्छ । प्रधानमन्त्रीको आगामी भ्रमणबाट जलस्रोत र ऊर्जा क्षेत्रमा नयाँ अध्याय शुरू हुनेछ ।’