१३ असार २०८३, शनिबार

मुख्य समाचार : चीनसँग १३ विषयमा समझदारी गर्ने सरकारको तयारी, थप हवाई रुट दिन भारत सहमत

मुख्य समाचार : चीनसँग १३ विषयमा समझदारी गर्ने सरकारको तयारी, थप हवाई रुट दिन भारत सहमत

काठमाडौं, ३ असार— प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबारबाट हुने चीन भ्रमणका क्रममा विभिन्न १३ विषयमा समझदारी गर्ने तयारी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पहिलो पटक बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणका बारेमा जानकारी गराउँदै भ्रमणका क्रममा विभिन्न १३ विषयमा समझदारी गर्ने तयारी भएको बताउनु भएको हो । 

बैठकले विगतमा चीनसँग भएको दुई पक्षीय सहमतिको कार्यान्वयन र सम्बन्धलाई थप विकास हुने अपेक्षा व्यक्त गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । क्रस बोर्डर रेलवे लाइन, क्रस बोर्डर हाइवे, क्रस बोर्डर कनेक्टिभिटी, पारवहन सम्झौता कार्यान्वयनका लागि प्रोटोकलमा हस्ताक्षर, मस्र्याङदीका तीन स्थानमा जलविद्युत् आयोजना निर्माण, पस्मिना, ऊनलगायतको निर्यात व्यापारसमेतका विषयमा द्विपक्षीय छलफल गर्ने गरी प्रस्तावको अन्तिम तयारी भइरहेकोबारे प्रधानमन्त्रीले ‘ब्रिफिङ’ गरेको नेकपा नेता देवेन्द्र पौडेलले बताए ।

साथै बैठकले पार्टीको पार्टीका जनसंगठन, भ्रातृ संगठन, पेसागत, प्रदेश, जिल्ला तथा स्थानीय तहका कमिटी एक बनाउन गृहकार्य अघि बढाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए । नेकपाले जनवर्गीय र तल्ला कमिटीलाई एक हुन आह्वान गर्ने र विवाद भए महासचिवलाई जानकारी गराउन अपिल गरेको छ ।

महासचिव पौडेलको संयोजकत्वमा गठित नियमावली मस्यौदा कार्यदलले बुझाएको मस्यौदा दुई साताभित्र पारित गर्ने निर्णय पनि भएको छ । मस्यौदामाथि स्थायी कमिटी सदस्यहरुले १० दिनभित्र आफ्ना राय–सुझावहरु दिने र केन्द्रीय सचिवालयले सुझावहरु समेटेर तयार पारेको प्रस्ताव १५ दिनभित्र स्थायी कमिटीको बैठकबाट पारित गर्ने तय भएको छ ।

नेकपाले बजेटमा सत्तारुढ सांसदहरुका असन्तुष्टि सम्बोधन गर्न मन्त्रीहरुसँग छलफल गर्ने र बजेट संशोधन गर्ने निर्णय गरेको छ ।

संसद्को संयुक्त बैठक
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आइतबार  आह्वान गर्नु भएको छ । अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्न लागेको हो । 

प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले संयुक्त बैठक आह्वान गर्नुभएको हो । बैठकले संसदको नियमावली पारित गर्ने छ । 

थप हवाई रुट दिन भारत सहमत
भारतले नेपाललाई  थप हवाई प्रवेश विन्दु उपलब्ध गराउने भएको छ । भारत र नेपालका नागरिक उड्डयन अधिकारीहरूबीच भएको वार्तामा महेन्द्रनगर, जनकपुर र विराटनगरबाट भारतीय आकाशबाट जहाज नेपाल भित्रिन पाउने गरी रुट दिने सहमति भएको हो ।

हाल एक्जिटमात्र हुने महेन्द्रनगर रुटबाट जहाज आउन पनि दिने सम्बन्धमा नेपालले १५ देखि २४ हजार फिटसम्मको रुटबारे अध्ययन गरेर जुलाई १० सम्म अध्ययन प्रतिवेदन भारतसँग पेस गर्ने र ३० हजारमाथिको उचाइका उडानको लागि भारतीय पक्षले अध्ययन गर्ने सहमति भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए । 

त्यस्तै, विराटनगर र नेपालगञ्जबाट पनि थप हवाई प्रवेश विन्दुका सम्बन्धमा नेपालले रुट विकास गरेर सुरक्षा तथा अन्य सबै अध्ययन गरेर भारतीय पक्षसमक्ष प्रस्ताव पेश गर्ने सहमति भएको छ ।

धमिलो वर्षा अझै केही दिन 
मुलुकका विभिन्न स्थानमा पहेंलो धूलो सहितको धमिलो वर्षा हुने सम्भावना अझै केही दिन जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शुक्रबार राति र शनिबार बिहान विभिन्न स्थानमा धमिलो पानीको वर्षा भएको थियो । मौसमविद् सुभाष रिमालका अनुसार भारतको राजस्थान माथिको आकाशबाट फैलिएको धूलो नेपाली वायुमण्डलमा आइपुगेपछि धूलो मिसिएको पानी परेको हो ।

राजस्थान आसपासको मरुभूमिमा अझै पनि धूलो सहित हुरी चलिरहेको र सो पूर्वतिर सर्ने क्रम जारी रहेकोले मनसून सक्रिय भई पश्चिमी भाग सम्म नफैलिँदा सम्म अझै केहि दिन सो धूलोको प्रभाव नेपालको वायुमण्डलमा  र पर्ने पानीमा देखिने सम्भावना छ ।’ 

उपचार गरेर घर फर्किए राष्ट्रकवि घिमिरे 
राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएपछि पूर्णतया स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको उनका छोरा इन्दीवरले जानकारी दिए ।

राष्ट्रकवि घिमिरे बिहीबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्