
काठमाडौं, ३ असार–रसियामा जारी विश्वपक फुटबल अन्तर्गत गयराति भएको खेलमा क्रोएसियाले विजयी सुरुवात गरेको छ । तुलनात्मक रुपमा कमजोर देखिएको खेलमा क्रोएसियाले उपहार गोलबाट जित निकालेको हो ।
समूह ‘डी’मा रहेको क्रोएसियाले नाइजेरियामाथि २–० को जित निकालेको हो । ३२ औँ मिनेटमा नाइजेरियाका इटेबोले क्रोएसियाका खेलाडीको कर्नर जोगाउन खोज्दा आत्मघाती गोल गरे ।
उपहार गोलबाट पहिलो खेलमा १–० को अग्रता लिएको क्रोएसियाले दोस्रो हाफमा पेनाल्टी पायो । ७१ औँ मिनेटमा पाएको पेनाल्टीमा लुका मोड्रिकले गोल गर्दै क्रोएसियालाई २–० को जित दिलाए ।
नाइजेरियाले क्रोएसियासँगको खेलमा केही आक्रामक खेलेको थियो । तर उसले गोल भने गर्न सकेन । यो जितले क्रोएसिया समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ ।