काठमाडौं, ४ असार – मंगलवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनकीच सिंगापुरमा भएको शिखरवार्तालाई ऐतिहासिक भनिएको छ । यो शिखरवार्ता गराउनमा दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन र चीनको प्रमुख भूमिका रहेको बताइएको छ ।
तर अहिलेसम्म सार्वजनिक नभएको तथ्य के हो भने एक व्यापारीले आफ्नो हित पूरा गर्नका लागि उत्तर कोरियासँग ट्रम्पको वार्ता गराएका हुन् ।
ती व्यापारी ग्याब्रियल शुल्ज हुन् र उनले अघिल्लो वर्षको गर्मी महिनामा ट्रम्प प्रशासनसमक्ष असामान्य प्रस्ताव गरे । उत्तर कोरियाको सरकार ट्रम्पका ज्वाईं ज्यारेड कुशनरसँग भेट्न इच्छुक रहेको प्रस्ताव शुल्जले लगेका थिए ।
शुल्जले बताएअनुसार, उत्तरका शीर्ष अधिकारीहरू राष्ट्रपति ट्रम्प र किमबीच वार्ताको सम्भावना पत्ता लगाउनका लागि एक ब्याकच्यानलको खोजीमा थिए । सिंगापुरमा बस्ने शुल्ज उत्तर कोरियामा व्यापार गर्ने सम्भावना खोजिरहेका थिए । उनले धेरैचोटि प्योङयाङ भ्रमण गरेका थिए र यसै बेलामा अनेकौं सम्पर्क पनि कायम गरेका थिए ।
उत्तर कोरियाका लागि अमेरिकासँग सम्पर्क बनाउने सबभन्दा सही माध्यम कुशनर नै हुन्थे । राष्ट्रपतिको परिवारका सदस्य भएका नाताले प्योङयाङका अधिकारीहरू कुशनरले आफ्ना ससुरालाई सबै कुरा पु–याउने सबभन्दा सही माध्यम भएको ठान्थे ।
हालै अमेरिकाका केही बहालवाला र पूर्व अधिकारीहरूबीचको अन्तर्वार्ता र दुई देशबीच भएका सम्झौताका विषयमा जानकार अधिकारीहरूको बयानले अघिल्लो हप्ता ट्रम्प र किमबीच भएको हस्तमिलनमा कुशनरको भूमिका देखिन्छ । यसबाहेक बैठकअघि दुवै देशका जासूसी अधिकारीहरूबीचका गोप्य बैठक पनि भए अनि व्यवसायीहरूबीच चर्चा पनि चले ।
उत्तर कोरियाले अमेरिकाको परराष्ट्र मन्त्रालयको झन्झटमा फस्न चाहँदैनथियो अनि सीधै ट्रम्पसमक्ष पहुँच बनाउन चाहन्थ्यो । त्यसका लागि उसलाई शुल्जले बाटो देखाए । शुल्जले ट्रम्पका पारिवारिक सदस्यहरूसँग वर्षौंअघि
भेटघाट गरेका थिए । त्यतिखेर ट्रम्प परिवार एसियामा कारोबार फैलाउन चाहन्थ्यो ।
खबरहरूका अनुसार, कुशनरले पर्दापछाडि उत्तर कोरियाली अधिकारीहरूसँगको कुराकानीमा प्रत्यक्ष भूमिका निर्वाह गरेनन् । बरू त्यसको साटो उनले तत्कालीन सीआईए निर्देशक तथा अहिलेका परराष्ट्रमन्त्री माइक पम्पिओलाई
शुल्जको प्रस्तावको जानकारी दिए र सम्बन्धित एजेन्सीलाई वार्ता अघि बढाउन भने । यस विषयमा कुशनर र शुल्जबीचको सम्पर्कका बारेमा ह्वाइट हाउस र सीआईएले कुनै पनि बयान दिन अस्वीकार गरेका छन् ।
राष्ट्रपतिका ज्वाईं कुशनरले राष्ट्रिय सुरक्षासँग जोडिएका संवेदनशील मुद्दामा पर्दापछाडि बसेर भूमिका निर्वाह गरेको यो पहिलो अवसर हैन । सन् २०१७ मा पनि उनले ट्रम्प र चिनियाँ सरकारबीच बिग्रेको सम्बन्ध सुधार्नका लागि
चीनका उच्चायुक्तलाई मौका दिएका थिए । कुशनरले चीनका उच्चायुक्त कुई तियानकाईले दुई दिनसम्म यस विषयमा वार्ता गरेका थिए ।
एजेन्सी