
काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत आइसल्याण्डसँगको खेलमा प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न नसकेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
साथै मेस्सीलाई क्रिस्टियानो रोनाल्डोसँग जोडेर पनि तुलना भइरहेको छ । रोनाल्डोले अघिल्लो दिन स्पेनविरुद्ध ह्याट्रिक प्रहार गरेका थिए, जसमा एक पेनाल्टी गोल पनि सामेल थियो ।
वर्तमान पुस्ताका सर्वोत्कृष्ट यी दुई फूटबलरबीच प्राय: यस्तै तुलना हुनेगर्छ । सफलता र असफलता दुवैलाई जोडेर यी दुई स्टारबीच तुलना गर्ने गरिन्छ ।
रोनाल्डोको ह्याट्रिक र मेस्सी पेनाल्टीमा असफल भएपछि कतिपयले मेस्सीलाई लक्षित गर्दै खिस्सी गरिरहेका छन् ।
यहाँ पेनाल्टी गोललाई लिएर रोनाल्डो र मेस्सीबीच तुलना गर्ने प्रयास गरिएको छ ।
मेस्सीले आफ्नो फूटबल करियरमा ८८ पटक पेनाल्टी प्रहार गरेका छन् । त्यसमध्ये ७१ प्रहार गोलमा परिणत भएको छ भने १७ प्रहार खेर गएको छ ।
उनले बार्सिलोनाका लागि ला लिगामा ५९ पेनाल्टी प्रहार गरेकोमा ४८ वटालाई गोलको दिशा दिएका छन् । ११ वटा पेनाल्टी मिस भएको छ ।
यस्तै बार्सिलोनाकै लागि च्याम्पियन्स लिगमा १४ पेनाल्टी प्रहार गरेकोमा ११ वटाले जाली चुमेको छ । ३ पटक प्रयास असफल भएको छ ।
मेस्सीले अर्जेन्टिनाका लागि १६ पटक पेनाल्टी प्रहार गरेका छन्, जसमा १२ वटा प्रहारले गोलको दिशा लिएको छ भने ४ वटा प्रहार खेर गएको छ ।
मेस्सीले आफ्नो करियरमा गरेका ५४७ गोलमध्ये ७१ गोल पेनाल्टीबाट सामेल छ । यो उनको समग्र गोलको १२.९७ प्रतिशत हो ।
उता रोनाल्डोले १ सय ११ पेनाल्टी प्रहार गरेकोमा ९३ वटालाई गोलको दिशा दिएका छन् । १८ वटा प्रहार खेर गएको छ ।
उनले म्यान्चेस्टर युनाइटेडका लागि प्रिमियर लिगमा १३ पेनाल्टी प्रहार गरेकोमा ११ वटालाई गोलको दिशा दिएका थिए भने २ वटा पेनाल्टी मिस भएको थियो ।
यस्तै लालिगामा रियल मड्रिडका लागि ७१ पेनाल्टी प्रहार गरेकोमा ६१ वटाले जाली चुमेको छ । १० वटा पेनाल्टी मिस भएको छ ।
च्याम्पियन्स लिगमा १६ मध्ये १४ वटा पेनाल्टीलाई गोलको दिशा दिएका रोनाल्डोले पोर्चुगलका लागि ११ पेनाल्टी प्रहार गर्दै ७ गोल गरेका छन् ।
रोनाल्डोले आफ्नो फूटबल करियरको ५८४ गोलमध्ये ९३ गोल पेनाल्टीबाट गरेका छन् । जुन समग्र गोलको १५.९२ प्रतिशत हो ।
पेनाल्टीमा को बढी प्रभावकारी ?
रोनाल्डोले १ सय ११ पेनाल्टी प्रहार गरेर ९३ वटालाई गोलमा परिणत गरेको अवस्थामा मेस्सीले ८८ पेनाल्टी प्रहार गर्दै ७१ गोल गरेका छन् ।
रोनाल्डोले १८ वटा पेनाल्टी खेर फाल्दा मेस्सी १७ वटा पेनाल्टीलाई गोलमा परिणत गर्न असफल भएका छन् । तर मेस्सीले भन्दा रोनाल्डोले बढी पेनाल्टी प्रहार गर्दै पेनाल्टीमा बढी नै गोल गरेकाले यसलाई प्रतिशतमा तुलना गर्नु उचित हुन्छ ।
रोनाल्डोले आफूले प्रहार गरेका ८३.७८ प्रतिशत पेनाल्टीलाई गोलमा परिणत गर्दा मेस्सीले ८०.६८ प्रतिशत पेनाल्टीलाई जाली चुमाएका छन् ।
यसरी हेर्दा पेनाल्टीमा रोनाल्डो मेस्सीभन्दा केही बढी प्रभावकारी देखिन्छन् । तर उनले मेस्सीभन्दा १ बढी पेनाल्टी मिस गरेका छन् ।