
काठमाडौं, ४ असार – इंग्ल्यान्डका लागि सन् १९६६ को विश्वकप मात्र यादगार छ भने ट्युनिसियालाई सन् १९७८ को याद झलझली आउँछ । सन् १९७८ मा उनीहरू विश्वकपको खेल जित्ने पहिलो अफ्रिकी–अरबी टोली थिए ।
उक्त विश्वकपले ट्युनिसियन युवाहरूको एक पुस्तालाई नै फूटबल खेल्न प्रेरित गर्यो । अर्जेन्टिनामा भएको उक्त विश्वकपमा ट्युनिसया मेक्सिकोविरुद्ध पहिलो हाफमा १–० ले पिछडिएको अवस्थामा दोस्रो हाफमा तीन गोल हानेर विजयी भएको थियो ।
केही दिनपछि उसले विश्वविजेता पश्चिम जर्मनीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर पोल्यान्डसँग हार बेहोरेपछि ऊ समूह चरणबाटै बाहिरिएको थियो ।
उनीहरूको त्यो उपलब्धिको धरोहर अहिलेसम्म कायम छ । त्यसपछिका विश्वकपहरूमा उनीहरूले त्यत्तिकै उम्दा प्रदर्शन गर्न भने सकेका छैनन् । सन् १९९८ को विश्वकपमा उनीहरू असफल रहे र त्यतिखेर पनि इंग्ल्यान्डसँग भिडेका थिए । इंग्ल्यान्डले उक्त गेम २–० ले जितेको थियो ।
इंग्ल्यान्डका समर्थकले ट्युनिसिया र पनामा जस्ता सामान्य टोलीको समूहमा परियो भनेर दंग परेपनि ट्युनिसियाले आश्चर्यजनक परिणाम ल्याउन पनि सक्छ । समूहको अर्को टोली बेल्जियम हो र उसैले समूह टप्ने अपेक्षा छ ।
त्यसो त इंग्ल्यान्डको विश्वकप तयारी राम्रै रह्यो । उसले मैत्री खेलहरूमा २–० ले पछि परेको अवस्थामा पोर्चुगलसँग बराबरी खेलेको थियो र स्पेनसँग साँघुरो अन्तरले हारेको थियो ।
उता सन् २००६ पछि पहिलोपटक विश्वकपमा पुगेको ट्युनिसियाले छनोट चरणमा राम्रो प्रदर्शन गरेको थियो । प्रशिक्षक नबिल मालूलले एकजुट बनाएको टोलीलाई अपेक्षाको बोझले थिचेको छैन ।
तर ट्युनिसियाका स्टार फर्वार्ड युसेफ म्साक्नी घाइते भएपछि थोरै समस्या आएको छ र उनको ठाउँमा वाह्बी खाजरीले खेल्नेछन् ।
ट्युनिसियाको डिफेन्स राम्रो छ तर म्साक्नीको चोटका कारण ट्युनिसियाले धेरै गोल चाहिँ नगर्ने सम्भावना छ ।
अनि युरोकपमा आइसल्यान्डसँग हारेर बेइज्जती खेपेको इंग्ल्यान्ड पनि प्रतियोगितामा निकै माथि जाने अपेक्षा गरिरहेको छ । इंग्ल्यान्डले ठूला प्रतियोगिताहरूमा जहिले पनि माथिल्ला चरणमा खराब खेलेर छिट्टै घर फर्किने गरेको छ र ऊ यसपालि त्यो अपशकुन तोड्न चाहन्छ ।
इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्ना खेलाडीहरूलाई ट्रेनिङका बेलामा देखाएको ऊर्जा राष्ट्रिय टोलीका लागि पनि प्रदर्शन गर्नुपर्ने बताएका छन् ।
कीएरान ट्रिप्पिएर र एश्ले योङले विङ–ब्याक पोजिसनमा राम्रो खेल देखाउनुपर्नेछ । तीन प्रमुख डिफेन्डरहरू काइल वाकर, जोन स्टोन्स र ह्यारी मग्वायरले ब्याक सम्हाल्नेछन् ।
देले अल्ली र जेस्सी लिंगार्डले ट्युनिसियाको पेनाल्टी एरियामा ह्यारी केन र रहीम स्टर्लिङलाई सहायता गर्नुपर्ने साउथगेटको धारणा छ ।
इंग्ल्यान्डका लागि राम्रो प्रदर्शनको अपेक्षा राखिएका अन्य खेलाडीमा जोर्डन हेन्डरसन, एरिक डिएर, काइल वाकर र मार्कस राशफोर्ड छन् ।
समग्रमा इंग्ल्यान्डले अट्याकमा बढी जोड दिने सम्भावना छ ।
त्यसैले होला, ट्युनिसियाका कोचले अल्ली र केनको सम्पर्कसूत्रलाई तोड्ने रणनीति अपनाइने बताएका छन् ।
इंग्ल्यान्डले ३–३–२–२ को फर्मेसनमा खेल्ने सम्भावना छ ।