३० जेठ २०८३, शनिबार

संसदमा प्रधानमन्त्री ओली– ‘चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन दिन्नौं’

संसदमा प्रधानमन्त्री ओली– ‘चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन दिन्नौं’

काठमाडौं, ४ असार –प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि शुरु हुने आफ्नो चीन भ्रमणका क्रममा मुलुकको वृहत्तर हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर छलफल गर्ने बताउनुभएको छ ।

नेपालले चीनको संवेनशीलता राम्रोसँग बुझेको भन्दै उहाँले चीनविरुद्धका कुनैपनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गरेर गर्न नदिने स्पष्ट पार्नुभयो । 

सोमवार प्रतिनिधि सभाको बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सरकार एक चीन नीतिमा दृढ रहेको बताउनुभएको हो । 

‘भ्रमणको अवसरमा दुईपक्षबीच गरिने छलफल, मुलुकको वृहत्तर हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यानमा राखेर गरिने छ,’ ओलीले संसदमा भन्नुभयो, ‘हामीले चीनका संवेदनशीलतालाई बुझेका छौँ, एक चीन नीतिमा हामी दृढ छौँ र चीनविरुद्धका कुनै पनि गतिविधि नेपालको भूमि प्रयोग गरेर गर्न दिँदैनौ ।’

प्रधानमन्त्री ओलीले भूकम्पछि चीनसँगको केरुङ नाका मात्र चलेकोमा यसपटक केही नाका सञ्चालनको सहमति हुने सम्भावना रहेको बताउनुभयो । ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तामा नेपाल र चीनका सम्बन्धहरूलाई सुदृढ गर्ने भनेर राख्ने उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री ओलीले राष्ट्रिय प्राथमिकतामा रहेको विकासको एजेन्डा नै भएको स्मरण गर्दै सहयोग, सहकार्य र संयुक्त लगानीको कुरा कसरी गर्न सकिन्छ भन्नेबारे छलफल हुने बताउनुभयो । 

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ६ दिने भ्रमणका लागि ओली भोलि बिहान चीन प्रस्थान गर्ने कार्यक्रम छ । 

ओलीले चीन नेपालको समस्यारहित मित्रता रहेको मुलुक रहेको र जसले आफू धेरै विकसित नभएको अवस्थामा पनि राम्रो सहयोग गरेको बताउनुभयो । 

‘हामीलाई राम्रो के छ भने दुवैतर्फ ठूलो जनसंख्या भएका ठूलो देश छ, राम्रो व्यवहार गर्न सके ठूलो बजार प्राप्त गर्न सक्छौँ,’ ओलीले भन्नुभयो, ‘क्रयशक्ति सुदृढ भएको देश, सहयोगी भावना भएको देशमा जाँदैछु ।’ 

ओलीले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा चीनको भ्रमणका अवसरमा गरेका केही दूरगामी महत्त्वका सन्धि सम्झौता र समझदारीबारे पनि उल्लेख गर्नुभयो ।

‘तिनीहरूले गौरवपूर्ण इतिहासको मससुस मात्र होइन, भोलिको यात्रालाई पनि संकेत गर्छन्,’ ओलीले भन्नुभयो । 

‘यसपटक भ्रमणमा ती सम्झौताहरूको सम्बन्धमा थप छलफल गर्छौं, हाम्रा प्राथमिकता र दृष्टिकोण राख्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्