
काठमाडौं, ५ असार– प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका सम्बन्धमा दिल्लीमा ‘रहस्यमय मौनता’ देखिएको छ । विगतमा ‘नेपाल चीनतिर ढल्कियो, केपी ओली र चीनबीच विशेष सम्बन्ध’ जस्ता शीर्षकलाई प्राथमिकतामा राख्ने भारतीय प्रमुख सञ्चार माध्यमले समेत ओलीको चीन भ्रमणका सम्बन्धमा औपचारिकता मात्र पूरा गरेको देखिन्छ ।
विगतमा मन्त्रीस्तरको भ्रमणमा समेत विशेष चासो र टिप्पणी गर्ने गरेका अधिकारीहरू यसपटक प्रधानमन्त्रीस्तरको भ्रमणका बारेमा समेत प्रतिक्रियाविहीन देखिन्छन् । अनौपचारिक कुराकानीमा समेत उनीहरू यो नेपाल र चीनबीचको मामिला हो भन्दै पन्छिने गरेका छन् ।
ओलीको भ्रमणलाई भारतले कसरी हेरिरहेको छ भन्ने जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले कुनै पनि प्रतिक्रिया दिन चाहेनन् । उनले भने, ‘नो कमेन्ट ।’ गत साता विदेश मन्त्रालयका एक अधिकारीसँग सम्पर्क गर्दा पनि उनले ओलीको भ्रमण ‘नेपाल र चीनबीचको मामिला’ भन्दै कुनै प्रतिक्रिया दिन चाहेनन् । कान्तिपुरमा खबर छ ।