
काठमाडौ, ५ असार– स्वर्गीय वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिन आफन्त र शुभच्छुकहरूको भिड लागेको छ । उनलाई श्रद्धाञ्जली दिनका लागि बिहानै देखि न्यूरो अस्पताल परिसरमा शुभेच्छुकको भिड लागेको हो ।
उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलगायत राजनीतिक दलका शीर्ष नेता, सरकारका उच्च अधिकारी, आफन्त र शुभेच्छुकहरुले अस्पतालमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । अहिले पनि अस्पताल परिसरमा श्रद्धाञ्जली दिनेको भिड छ ।
सरकारले राजकीय सम्मान दिने
डा देवकोटाको राजकीय सम्मानका साथ दाहसंस्कार गरिने भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बठैकले डा देवकोटालाई राजकीय सम्मान गर्ने निर्णय गरेको हो । नेपाली चिकित्सा क्षेत्रमा देवकोटाले गरेको योगदानको सम्मान गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।
डा देवकोटाको निधनबाट प्रधानमन्त्री स्तब्ध
प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सोमबार साँझ ट्वीट गर्दै नेपालको स्वास्थ्य विज्ञान क्षेत्रमा डा देवकोटाले पुर्याउनुभएको योगदानलाई राष्ट्रले सदा स्मरण गरिरहने बताउनु भएको छ ।
डा देवकोटाप्रति राष्ट्र सँधै ऋणीः नेकपा
नेपाल कम्युनिष्ट पार्टीले न्युरो साइन्सका विख्यात चिकित्सक प्रा.डा. उपेन्द्र देवकोटाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ । डा. देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गरेको उचाइँ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक रहेको सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
“स्रोत, साधन र प्रविधिको सीमितता भएको बेलामा खुल्ला प्रतिस्पर्धामार्फत योग्यताका आधारमा विश्वका प्रसिद्ध न्युरो सर्जरी विश्वविद्यालयबाट हासिल गरेको ज्ञान र सीप नेपालमै प्रयोग गर्न उहाँले देखाएको प्रतिबद्धताका लागि उहाँप्रति राष्ट्र सधैँ ऋणी रहिरहनेछ ।” विज्ञप्तिमा भनिएको छ ।
डा देवकोटाको निधनबाट अपुरणीय क्षतिः काँग्रेस
नेपाली काँग्रेसले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनप्रति शोक व्यक्त गर्दै उनको निधनले काँग्रेस पार्टी परिवारलाई अत्यन्तै दुःखित तुल्याएको जनाएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी हजारौँको जीवन बचाउन सफल डा देवकोटाको असामयिक निधनबाट राष्ट्रका लागि ठूलो क्षति पुगेको बताए ।
काँग्रेसले डा देवकोटाको निधनबाट चिकित्सा जगत्मा दक्षिण एशियाकै लागि अपुरणीय क्षति पुगेको छ, विज्ञप्तिमा भनिएको छ, “दुर्गम गाउँमा जन्मिएर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वका रुपमा उहाँले हासिल गरेको सफलता समस्त नेपालीका लागि प्रेरणाका रुपमा रहिरहने छ ।”
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पनि वरिष्ठ न्यूरो सर्जन डा देवकोटाको निधनप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।