काठमाडौं, ५ असार – सामाजिक सञ्जाल फेसबूकले बिहीवारदेखि नीतिमा विशेष परिवर्तन गर्न गइरहेको छ । साइटमा अब बच्चाहरूलाई बन्दूक तथा त्यससँग जोडिएका कुराको विज्ञापन देखाइने छैन ।
अहिले फेसबूक चलाउने व्यक्तिले बन्दूकको स्कोप, होल्स्टर, बन्दूकमा लगाइने लाइट लगायतका कुराको विज्ञापन हेर्न पाउँथ्यो । तर अब फेसबूकमा देखिने यी विज्ञापन बच्चाहरूलाई देखाइने छैन ।
आफ्ना नीतिहरूको नियमित समीक्षापछि यो फैसला लिइएको फेसबूकले बताएको छ ।
अमेरिकाका विद्यालयहरूमा गोलीबारीका अनेकौं घटना र बन्दूक हिंसामाथिको बहसका क्रममा यो फैसला लिइएको हुनसक्छ ।
तर फेसबूकले आफ्नो नेटवर्कमा पहिलेदेखि नै हतियार, विस्फोटक पदार्थ र बन्दूकसम्बन्धी पत्रिका बिक्रीमा रोक लगाएको छ ।
हालै कम्पनीले मानिसहरूको निजी जनकारी सुरक्षित गर्ने सम्बन्धमा पनि कैयौं नीति सार्वजनिक गरेको छ ।
असार १८ गतेदेखि कुनै विज्ञापनदाताले डाटा ब्रोकर प्रयोग गर्दा प्रयोगकर्तालाई त्यसको जानकारी दिइनेछ । डाटा ब्रोकर त्यस्तो कम्पनी हो जसले उपभोक्ताको डाटा जम्मा गरेर उसलाई बेच्छ । यसमार्फत विज्ञापनदाता आफ्नो लक्षित समूहसम्म पुग्न सक्छ ।
बीबीसीबाट