२८ जेठ २०८३, बिहीबार

अर्ति दिएर ‘गुरु’ बन्नेले देश बिगारे : मुख्यमन्त्री शाही

असार ६, २०७५
अर्ति दिएर ‘गुरु’ बन्नेले देश बिगारे : मुख्यमन्त्री शाही

सुर्खेत, ६ असार – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको विकास नहुनुको मुख्य कारण मानिस जन्मिने बित्तिकै गुरु बन्ने प्रचलन रहेको बताएका छन् ।

आज निर्वाचन आयोगले आयोजना गरेको समीक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले मानिस जन्मेदेखि आर्यघाट पुग्दासम्म ‘गुरु’ कहिल्यै नबन्ने बताए । ‘मानिस जन्मेदेखि आर्यघाट पुगुञ्जेल सधैं विद्यार्थी नै हुन्छ,’ उनले भने, ‘तर, नेपालमा जन्मियो कि गुरु बनिहाल्ने प्रवृत्ति हावी हुँदै गएको छ ।’ उनले यस्तो प्रवृत्ति र सोचले मुलुकको भलाई नगर्ने बताए ।

मुख्यमन्त्री शाहीले अब निर्वाचन आयोगले १ भोट पनि बदर नहुने गरी अभियान शुरू गर्नुपर्नेमा जोड दिए । ‘राष्ट्रपति चुनावमा सांसदले समेत भोट बदर गरेका हामीले देखेका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘अब जनताको भोट बदर नहुने गरी निर्वाचन आयोग लाग्नुपर्ने मैले देखेको छु ।’ उनले मतदान प्रक्रिया, मतगणनाजस्ता विभिन्न कामलाई कसरी कम जनशक्तिको प्रयोग गरी गर्न सकिन्छ, त्यतातिर ध्यान दिन निर्वाचन आयोगलाई आग्रह गरे ।

विगतमा पर्याप्त तालिम र समय अभावका कारण चुनावताका विभिन्न कमजोर िभएको बताउँदै मुख्यमन्त्री शाहीले आगामी दिनमा त्यसो हुन नदिन आजैबाट निर्वाचन आयोग लाग्नुपर्ने आवश्यकता दर्शाए । विगतका चुनावमा साधनस्रोतको अभाव भएको, भौगोलिक विकटता रहेकाले व्यवस्थित रुपमा चुनाव गराउन नसकिएको बताउँदै त्यसका लागि मानसिक पक्ष पनि जिम्मेवार रहेको बताए ।

निर्वाचन आयोगका आयुक्त सुदिपकुमार शाहले निर्वाचनले लोकतन्त्रलाई संस्थागत गरेको बताउँदै आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए । ‘विगतमा आयोगबाट केही कमजोरी भएपनि आगामी दिनमा ती कमजोरीलाई सुधार्न यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने, ‘संसदमा पेश गर्नको लागि आयोगले विधेयक बनाउने तर त्यो संसदमा पास हुने बेलासम्म विधेयकको रुप नै बदलिने प्रणाली रहेको छ । त्यस्तो प्रणालीलाई हटाउनुपर्छ ।’

‘हामीले तयार गरेका ड्राफ्टहरू संसदमा गएर रुप बिगारिँदा मन चसक्क हुन्छ,’ उनले भने, ‘आगामी दिनमा त्यसो नभइदेओस् भन्ने हाम्रो चाहना छ ।’ निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै दिनुपर्नेमा उनको जोड छ । ‘अन्य लोकतान्त्रिक देशमा आयोगले नै निर्वाचनको मिति तय गर्छ,’ उनले भने, ‘जसका कारण कहिल्ये पनि निर्वाचनको मिति तल–माथि हुँदैन ।’

तर, नेपालमा भने सरकारमा रहेको दलले आफूले नजित्ने देखेमा चुनाव सार्ने वा मिति नतोक्ने प्रवृत्ति हावी भएको उनको बुझाई छ । कार्यक्रममा कर्णाली प्रदेशका सबै जिल्लाबाट न्यायाधीश, निर्वाचन आयोगका पदाधिकारी, सुरक्षा निकायका पदाधिकारी सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्