
काठमाडौं, ६ असार – केही महिनाअघि अचानक मलाई म न्युरोएन्डोक्राइन क्यान्सरबाट ग्रस्त छु भन्ने थाहा भयो । मैले जीवनमा पहिलोपटक यस्तो शब्द सुनेको थिएँ ।
सोधखोज गर्दा मैले थाहा पाएँ, यो रोगमाथि धेरै अनुसन्धान भएको रहेनछ किनकि यो एक अचम्मको शारीरिक अवस्थाको नाम हो र यसको उपचार अनिश्चित छ ।
अहिलेसम्मको मेरो जीवनयात्रामा म सामान्य गतिमा हिँडिरहेको थिएँ । मसँग आफ्नै योजना, आकांक्षा, सपना र गन्तव्यहरू थिए ।
म यिनैमा रमाएर अघि बढिरहेको थिएँ । अचानक टिकट कलेक्टरले मेरो ढाडमा थपथप गर्दै भने, ‘तपाईंको स्टेसन आइपुग्यो, कृपया झर्नुस् ।’
म आश्चर्यमा परें अनि भनें, ‘हैन, मेरो स्टेसन त आएकै छैन ।’
जवाफ आयो, ‘अर्को कुनै स्टपमा तपाईंले झर्नुपर्नेछ । तपाईंको गन्तव्य आइसक्यो ।’
अचानक अनुभव हुन्छ – म कुनै बिर्को (कर्क) जस्तै नचिनेको सागरमा अप्रत्याशित लहरहरूमा बगिरहेको छु अनि लहरलाई नियन्त्रण गर्ने मूर्ख विश्वास लिएको छु ।
यो डरले मलाई सताएपछि म आफ्नो छोरालाई भन्छु, ‘आजको यो हालतमा म यति मात्र भन्न चाहन्छु – म यो मानसिक स्थिति, यो डरका साथ बाँच्न चाहन्न । मलाई कसैगरी पनि आफ्नो गोडामा उभिनुछ अनि यो हालतमा तटस्थ भएर बाँच्नुछ । म उभिन चाहन्छु ।’
यस्तो थियो मेरो इच्छा, मेरो निश्चय ...
केही हप्तापछि म एक अस्पतालमा भर्ना भएँ । असीम पीडा भयो । पीडा हुन्छ भन्ने थाहा थियो तर यस्तो पीडा ... अब पीडाको तीव्रता बुझ्दैछु ।
केहीले पनि काम गरिरहेको छैन । न सान्त्वना, न सहानुभूति नै । सारा संसार त्यो पीडाको क्षणमा समेटिएको छ । पीडा आफूभन्दा ठूलो र विशाल अनुभव हुन्छ ।
म भर्ना भएको अस्पतालमा बाल्कनी छ । बाहिरको दृश्य देखिन्छ । कोमा वार्ड ठीक मेरोमाथि छ । सडकको एकातर्फ मेरो अस्पताल छ अनि अर्कोतर्फ लर्ड्स स्टेडियम छ । त्यहाँ भिभियन रिचार्ड्सको मुस्कुराइरहेको पोस्टर छ ।
मेरो बालककालको सपनाको केन्द्रलाई पहिलोपल्ट हेर्दा मलाई कुनै भाव आएन । मानौं त्यो संसार कहिले पनि मेरो थिएन ।
म पीडाको चक्रव्यूहमा छु ।
अनि एक दिन मलाई अनुभव भयो – म कुनै पनि यस्तो चीजको हिस्सा रहिनँ, जुन निश्चित हुने दाबी गरोस् । न अस्पताल, न स्टेडियम । मभित्र जे बाँकी थियो, त्यो वास्तवमा विश्वको असीम शक्ति र बुद्धिको प्रभाव थियो । अनिश्चितता
नै निश्चित छ ।
यो अनुभवले मलाई समर्पण र विश्वासका लागि तयार पा–यो । अब जस्तो परिणाम आओस्, यसले मलाई जहाँ लैजाओस्, आठ महिनापछि वा चार महिनापछि वा दुई वर्षपछि जहाँ पु–याओस् । चिन्ता एकातिर पन्छियो र फेरि विलीन
हुन थाल्यो अनि मेरो दिमागमा बाँच्ने मर्ने हिसाब नै हरायो ।
पहिलोपल्ट मलाई सही अर्थमा स्वतन्त्रता शब्दको अनुभव भयो । एक उपलब्धिको अनुभव ।
यो विश्वको तारतम्यमा मेरो विश्वास नै पूर्ण सत्य बन्यो । त्यसपछि यो विश्वास मेरो हरेक कोशिकामा बसेको अनुभव भयो । यो विश्वास कायम रहन्छ रहँदैन भन्ने त समयले नै बताउला । अहिले म यही अनुभव गरिरहेको छु ।
यो यात्रामा संसारभरिका मानिसले मेरो स्वास्थ्यको कामना गरिरहेका छन्, प्रार्थना गरिरहेका छन् । म कसैलाई चिन्छु तर नचिनेका धेरैले पनि फरक फरक ठाउँ र टाइम जोनबाट प्रार्थना गरेका छन् । उनीहरू सबैको प्रार्थना मिलेर
एक भएको छ र ठूलो शक्ति बनेको छ भन्ने मलाई लाग्छ । तीव्र जीवनधारा बनेर मेरो मेरुदण्डमा प्रवेश गरी शिरको कपालमा अंकुरित भइरहेको जस्तो लाग्छ मलाई ।
अंकुरित भएर कहिले कोपिला, कहिले पात, कहिले डाँठ र कहिले हाँगा बन्छ । म खुशी भएर यिनलाई हेर्छु । मानिसहरूको सामूहिक प्रार्थनाबाट उत्पन्न हरेक डाँठ, हरेक पात अनि हरेक फूलले मलाई नयाँ संसार देखाएको छ ।
लहरमा बिर्कोको नियन्त्रण हुनुपर्छ भन्ने छैन ।
तपाईं ईश्वरको कोक्रोमा झुलिरहुनुभएको छ ।
एजेन्सी