२४ असार २०८३, बुधबार

झोलामा ल्यापटप बोकेर प्रस्तुतीकरण देखाउँदा कृषि हुँदैन : मुख्यमन्त्री शाही

असार ८, २०७५
झोलामा ल्यापटप बोकेर प्रस्तुतीकरण देखाउँदा कृषि हुँदैन : मुख्यमन्त्री शाही

सुर्खेत, ८ असार – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शिक्षालाई श्रमसँग जोड्नुपर्ने बताएका छन् ।

श्रम बिना विकास सम्भव नभएको बताउँदै मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि शिक्षालाई श्रमसँग जोड्नुपर्ने बताएका हुन् । एसओएस बालग्राम सुर्खेतको आयोजनामा आज भएको अन्तर्राष्ट्रिय एसओएस दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले शिक्षाआर्जन गरिसकेपछि श्रमबाट भाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

‘अहिले पनि थुप्रै विद्वानहरू झोलामा ल्यापटप बोकेर हिँड्नुहुन्छ, पावर प्वाइन्ट प्रिजेन्टेसन देखाउनुहुन्छ, अब यसले पुग्दैन,’ मुख्यमन्त्री शाहीले भने, ‘कृषि विज्ञ हो भने स्याउ, सुन्तला, आँप, कागती फलाउनुपरयो, आफूले आर्जन गरेको ज्ञानलाई उत्पादनमा व्यक्त गर्नुपर्यो ।’

मुख्यमन्त्री शाहीले अहिलेको शिक्षा प्रणालीमा पनि आमूल परिवर्तनको आवश्यकता रहेको औंल्याए । मुलुकको गरीबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको जरुरी रहेको बताउँदै मुख्यमन्त्री शाहीले उत्पादन र श्रमसँग जोडिने शिक्षा प्रणाली विकास गर्नुपर्ने बताए ।

सामाजिक, आर्थिक र सांस्कृतिक कारणले शिक्षा क्षेत्रबाट वञ्चित बालबालिकालाई शिक्षित गराउन एसओएस बालग्राम विद्यालयले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै मुख्यमन्त्री शाहीले प्रशंसा गरे । शैक्षिक क्षेत्रको विकासका लागि गैरसरकारी क्षेत्रको समेत ठूलो योगदान रहेको बताउँदै राम्रो काम गर्ने गैरसरकारी संस्थासँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्