
बुटवल, ११ असार – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रूपन्देहीबाट ७ जना विद्यार्थीले औसत ग्रेड (जीपीए) ४ ल्याउन सफल भएका छन् । ४ जीपीए ल्याउने सबै संस्थागत विद्यालयका विद्यार्थी हुन् ।
बुटवलस्थित न्यू होराइजन माविबाट परीक्षामा सहभागी विद्यार्थीमध्ये ४ जनाले ४ जीपीए ल्याउन सफल भएका हुन् । विद्यालका छात्र गौरव अमगाई, मनिषा थापा, सक्षम देवकोटा र सुम्निमा श्रेष्ठले ४ जीपीए ल्याएको विद्यालयका प्रधानाध्यापक लोकनाथ उपाध्यायले जानकारी दिए ।
स्कलर्स होम बोर्डिङ स्कूलकी श्रृष्टि पोखरेल, न्यू भिजन बोर्डिङ स्कूलका अनमोल चालिस र तिनाउ बोर्डिङ स्कूलकी सलिना जिसीले ४ जीपीए ल्याउन सफल भएका हुन् । होराइजनबाटै ३ दशमलव ९५ जीपीए ल्याउने विद्यार्थी ५ जना छन् । होराइनलका विद्यार्थी नै २०५८ र २०६१ सालमा नेपाल प्रथम भएका थिए ।
शनिबार राति नतिजा प्रकाशित भएपनि कसैको पनि ४ जीपीए देखिएन । परीक्षा बोर्डको त्रृटिपछि हिजो पुनः नतिजा हेर्दा ७ जनाको ४ जीपीए आएको हो । सुरुमा हेर्दा उनीहरू सबैको ३ दशमलव ९५ जीपीए देखिएको थियो । गत वर्षको एसईईमा रूपन्देहीबाट २ जनाले ४ जीपीए ल्याएका थिए ।
आवरपिसल्याण्ड बोर्डिङ स्कूलका निसान्त पाण्डे र सैनामैनास्थित रामापुर रिभाइबलका आर्दश पाण्डेले ४ जीपीए ल्याएका थिए । ४ जीपीए ल्याउने विद्यार्थीले चिकित्सक बनी देशको सेवा गर्ने बताएका छन् । स्कलर्स होमका प्रधानाध्यापक बाबुराम बञ्जाडेले परीक्षा नियन्त्रण कार्यालयको लापरवाहीका कारण विद्यार्थीमा २ पटक नतिजा प्रकाशित भएको दुखेसो गरे । शनिबार हेर्दा ३ दशमलव ८५ आएका विद्यार्थीको आईतबार साँझपख परिणाम परिवर्तन भएर ४ जीपीए आएको उनले बताए । ‘हामीलाई पहिलो रिजल्टप्रति विश्वासै थिएन,’ उनले भने ।
विद्यालयमा अध्ययनको राम्रो वातावरण भएकाले सफलता मिलेको उनले बताए । अनमोलले विज्ञान विषय लिइ ११ कक्षाको पढाइ शुरू गर्ने बताए । अनमोलले नियमित अभ्यास गर्दै शिक्षकसँग सोधेर पढे राम्रो नम्बर ल्याउन सकिने बताए । ‘म कहिल्यै होस्टेल र ट्यूसन पढिन, आईतबार राति कुरा गर्दै बिहान र साँझ २/३ घण्टा अध्ययन गर्थे,’ उनले भने ।