
धादिङ। ‘छोरालाई परदेश होइन पर देश पठाएको रहेछु आमाको काखभन्दा अर्को कस्तो संसार भेट्यो मेरो छोराले ।’ नीलकण्ठ नगरपालिका–१४ की ७५ वर्षीया सन्तमाया तामाङ किन यसो भन्छिन्,’ कथा मार्मिक छ । घरपरिवार पाल्न कामदारका रूपमा विदेशिने थुप्रै युवामध्ये सन्तमायाका छोरा डम्बरबहादुरले पनि १३ वर्षअघि रोजगारीको गन्तव्यका रूपमा मलेसिया रोजे ।
नेपालीमा उखान छ, ‘१२ वर्षमा खोलो पनि फर्कन्छ ।’ तर सन्तमायाको हकमा यो लागू भएन । बुढेसकाल टेकिसकेकी आमालाई सुखले पाल्न बिदेसिएका डम्बरबहादुर पछिल्ला १२ वर्षदेखि बेखबर छन् । मलेसिया उडेको एक वर्षसम्म डम्बरबहादुरले आमालाई बेला मौकामा फोनसम्म गरे । सदरमुकाम धादिङबेंसीमा दुई÷चारपटक आमालाई डम्बरबहादुरको फोन पनि आयो । केही चिठी पनि आए ।
१२ वर्ष बित्योे, १ लाख २० हजार रुपैयाँ ऋण लिएर बिदेसिएका डम्बरबहादुर बेपत्ता छन् । ऋण जस्ताको तस्तै । छोरो बेपत्ता भएको लामो समय बित्दासमेत अत्तोपत्तो नभएपछि आमा सन्तमाया बिलौना गर्छिन्, ‘१२ वर्षमा खोली फर्कन्छ भन्छन् खै मेरो छोरा फर्केन हजुर, खोजिदिनुस् न ।’
डम्बरबहादुर २०६२ सालमा मलेसिया गएका थिए । कुन म्यानपावर कम्पनीबाट विदेश उडेको आमालाई पत्तै छैन । छोरालाई मलेसिया पठाउन साहुसँग १ लाख २० हजार रुपैयाँ ऋण लिएको मात्रै याद छ । धेरै पैसा कमाएर परिवारमा खुसीको उज्यालो छर्ने आस दिएर गएका तामाङ एक÷दुईपटक सम्पर्कमा आए । राजधानी दैनिकमा खबर छापिएको छ ।