
काठमाडौं, १२ असार – फिफा विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत मंगलबार 'समूह सी र डी'का खेलहरू हुँदैछन् । 'समूह सी'का दुवै खेल बेलुका पौने ८ बजे र 'समूह डी'का दुवै खेल राति पौने १२ बजे शुरु हुनेछ ।
'समूह डी'बाट क्रोएसिया अन्तिम १६ मा प्रवेश गरिसकेको छ । बाँकी तीन टीम अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्डको भाग्य र भविष्यको फैसला आजको खेलबाट हुनेछ ।
साविकको उपविजेता अर्जेन्टिना नाइजेरियालाई पराजित गर्दै नकआउट चरणमा पुग्ने रणनीतिमा छ । तर अर्जेन्टिनालाई आफ्नो खेल जितेर मात्र पुग्दैन, अर्को खेलको नतिजामा पनि भर पर्नुपर्छ ।
क्रोएसियाले आइसल्याण्डलाई हराएमा अर्जेन्टिनालाई फाइदा हुनेछ । आइसल्याण्डले जितिहालेमा पनि अर्जेन्टिनाजत्तिकै वा त्यो भन्दा बढी गोल अन्तरले जित्नुहुँदैन ।
क्रोएसियाले जित्नका लागि नखेल्ने चिन्ता !
जारी प्रतियोगितामा एक गोल पनि नखाएको एक मात्र टीम क्रोएसिया आइसल्याण्डभन्दा बलियो मानिन्छ । तर अघिल्लो चरणमा पुग्ने पक्कापक्कीजस्तै रहेकाले उसले आज आफ्ना महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिने सम्भावना रहेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।
क्रोएसियाले नियमित कप्तान लुका मोड्रिक, बार्सिलोनाबाट खेल्ने स्टार खेलाडी इभान र्याकिटिक, अघिल्लो खेलका गोलकर्ता एन्टे रेविक, स्ट्राइकर मारियो मन्जुकी, डिफेन्सिभ मिडफिल्डर मार्सेलो ब्रोजोभिक, डिफेन्डर डेजान लोभ्रेनलगायत महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिने सम्भावना छ ।
यस्तै गोलकिपर डानिजेल सबासिकले पनि विश्राम पाउन सक्छन् । यस्तो अवस्थामा क्रोएसियाको वैकल्पिक सेट मैदानमा उत्रिने छ ।
नाइजेरियाबाहेक अन्य टीमले क्रोएसियालाई समूह विजेता हुनबाट रोक्ने सम्भावना नै छैन । नाइजेरियाको पनि गोलअन्तर ० मा छ, जबकि क्रोएसियाको प्लस ५ गोल छ ।
यस्तोमा नाइजेरियाले अर्जेन्टिनालाई त्यो अन्तरले हराएर क्रोएसियालाई पछि पार्ने सम्भावना कम रहेकाले आजको हारले पनि क्रोएसियालाई कुनै फरक पार्ने देखिँदैन ।
त्यसो त मन्जुकी, ब्रोजोभिक, रेविकलगायत खेलाडीले अघिल्लो खेलमा पहेँलो कार्ड पाएकाले उनीहरूलाई विश्राम दिने पक्कापक्कीजस्तै छ ।
यस्तो भएमा आइसल्याण्डले क्रोएसियालाई हराउने सम्भावना रहन्छ । यसरी हेर्दा अर्जेन्टिनालाई नाइजेरियाविरुद्ध फराकिलो जीत आवश्यक पर्नसक्छ ।