२५ असार २०८३, बिहीबार

सुन तस्करीमा संलग्न कसैलाई पनि छाडिदैन–गृहमन्त्री

सुन तस्करीमा संलग्न कसैलाई पनि छाडिदैन–गृहमन्त्री

काठमाडौं, १३ असार–गृहमन्त्री रामबहादुर थापाले अवैध सुन तस्करी प्रकरणमा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने बताएका छन् ।

व्यवस्थापिका संसदमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै गृहमन्त्री थापाले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणमा १० जना प्रहरी हिरासतमा रहेको भन्दै अपराधमा संलग्न जो कोहीलाई पनि कानूनी कारवाहीको दायरामा ल्याउन गृहमन्त्रालयले कुनै कसर बाँकी नछोड्ने बताएका हुन् ।

विपद नियन्त्रणको लागि जिल्लामा आपतकालीन टीम २४सै घण्टा खटाउने गरी गृहमन्त्रालयले तयारी गरिसकेको गृहमन्त्री थापाले संसदमा जानकारी दिए । 
विगतमा प्राकृतिक विपत्तिबाट मृत्यु भएका मृतकका परिवारलाई तत्काल जनही एक लाखका दरले उपलब्ध गराउने र भौतिक क्षति भएकालाई क्षति अनुसार तत्कालिन राहतको रूपमा केही रकम उपलब्ध गराउने तयारी गृहमन्त्रालयको रहेको छ । 

गृहमन्त्रालयले नागरिकतासम्बन्धी मस्यौदा तयार गरी कानून मन्त्रालयमा पठाइएको जानकारी गृहमन्त्री थापाले दिएका छन् । कुनै पनि हालतमा नेपाली नागरिक नागरिकताविहिन हुनुहुन्न भन्ने सरकारको मान्यता रहेको मन्त्री थापाको भनाइ थियो ।

सडक दुर्घटनाबाट वार्षिक करिब २००० को ज्यान जाने तथ्यांक उल्लेख गर्दै गृहमन्त्री थापाले त्यसलाई कम गर्न सडक निर्माण लगायतका काम समयमै सम्पन्न हुनुपर्ने र कानून बमोजिम गुणस्तरीय हुनुपर्नेमा गृहमन्त्रालय सचेत रहेको जानकारी दिए । 

सीमा क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले विशेष कार्ययोजना सहित सीमामा हुने अवैध तस्कर, अपराध लगायतका विषयहरूलाई कम गर्नेतर्फ ध्यान दिएको गृहमन्त्री थापाको भनाइ थियो । अहिले १० हजार सशस्त्र प्रहरी सीमा सुरक्षाको लागि खटाइएको र भविष्यमा आवश्यकता अनुसार उक्त संख्या बढाउन सकिने भनाइ गृहमन्त्री थापाको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्