
काठमाडौं, २ फागुन –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यलय, काठमाडौंका उप –न्यायाधिवक्ता (उपसचिव) प्रकाश घिमिरेलाई घूस लिँदालिँदै पक्राउ गरेको छ ।
विशेष उजुरीका आधारमा आयोगकोे कार्यालयबाट खटिएको टोलीले घिमिरेलाई २० हजार रुपैयाँ घूस लिँदै गरेको अवस्थामा आइतवार पक्राउ गरेको हो ।
फरार रहेको अवस्थामा ज्यान मुद्दाका प्रतिवादीमार्फत मृतकका साथबाट प्राप्त गरेको आइफोन किनमेलमा संलग्न रुपेश श्रेष्ठको मुद्दा फितलो बनाई अदालतमा पेश गर्ने प्रयोजनका लागि प्रतिवादीका आफन्तसँग विभिन्न बहानामा घूस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगले उनलाई खोजि गरेको थियो ।
उनलाई आयोगको टोलीले काठमाडौं महानगरपालिका वडा नं. ३५ सुविधामार्गस्थित ताज बैंकेट अगाडिबाट पक्राउ गरेको हो । उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।