काठमाडौं, १७ असार – पाकिस्तानको ध्वस्त अर्थव्यवस्था सम्हाल्नका लागि चीनले ऋण दिने भएको छ । पाकिस्तानमा विदेशी मुद्रा भण्डारण बढाउनका लागि चीनले एक अर्ब डलरको आर्थिक सहयोग उपलब्ध गराएको हो ।
पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग दोस्रोपटक बेलआउट प्याकेज लिने आशंका हुँदै गर्दा अर्थ मन्त्रालयका दुई सूत्रले रोयटर्स समाचार संस्थालाई यो जानकारी दिएका हुन् ।
ताजा ऋणबाट एकचोटि फेरि घट्दो विदेशी मुद्रा भण्डारलाई बचाउनका लागि चीनमाथि इस्लामाबादको निर्भरता प्रस्ट हुन्छ । सन् २०१७ मा पाकिस्तानसँग १६.४ अर्ब डलर विदेशी मुद्राको भण्डार थियो र अघिल्लो हप्ता घटेर ९.६६ अर्बमा झरेको छ ।
सूत्रहरूले बताएअनुसार, यो ऋणका लागि दुई देशबीच मे महिनादेखि नै कुराकानी चलिरहेको थियो । पाकिस्तानले चीनसँग एकदेखि दुई अर्ब डलर ऋण मागेको थियो ।
यो ऋणसँगै अघिल्लो आर्थिक वर्षमा चीनले पाकिस्तानलाई पाँच अर्ब डलरको ऋण दिएको हो ।
बेइजिङले ५७ अर्ब डलरको लागतमा बनिरहेको चीन–पाकिस्तान आर्थिक कोरिडोरलाई सफल बनाउनका लागि पाकिस्तानको अर्थव्यवस्थालाई लगातार मजबूत बनाृने प्रयास गरिरहेको छ ।
तर विशेषज्ञहरूका अनुसार, चीनको सहायता पाकिस्तानका लागि पर्याप्त छैन र २५ जुलाईमा त्यहाँ हुने आमनिर्वाचनपछि नयाँ सरकारले पाकिस्तानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषबाट दोस्रो बेलआउट प्याकेज लिनुपर्ने हुन्छ । यसअघि
सन् २०१३ मा पाकिस्तानलाई बेलआउट प्याकेज दिइएको थियो ।
एजेन्सी