काठमाडौं, १७ असार – थाइल्यान्डमा एक हप्तादेखि गुफामा फसेका १२ किशोर र उनीहरूका फूटबल प्रशिक्षकलाई उद्धार गर्ने प्रयास अझै पनि जारी छ ।
गुफामा पानी भरिएका कारण उनीहरूको उद्धारमा कठिनाइ आएको छ ।
अघिल्लो शनिवार ११ देखि १६ वर्ष उमेरका यी किशोर तथा उनीहरूका प्रशिक्षक थाम लुआङ गुफामा पसेदेखि सम्पर्कविहीन भएका छन् । भारी वर्षका कारण गुफाको प्रवेशद्वार बन्द भएको छ ।
खोजी अभियान भारी वर्षाका कारण प्रभावित भयो र प्रवेशद्वारनजिकको सुरुङ डुबेका कारण गोताखोरहरू अघि बढ्न पाएनन् ।
चियाङ रायका गभर्नर नारोङसाक ओसोटानाकोर्नले जलसेनाका सील गोताखोरहरू किशोर फसेको अनुमान गरिएको ठाउँबाट दुई वा तीन किलोमिटरनजिकको क्षेत्रमा रहेको टी जंक्सनमा पुगेको जानकारी दिएका छन् ।
गोताखोरहरू उक्त ठाउँमा पहिले पनि पुगेका तर जलस्तर बढेका कारण फर्किन बाध्य भएका थिए ।
सुरुङहरूमा जलस्तर अन्ततोगत्वा कम भयो किनकि पानी निकाल्नका लागि दर्जनौं पम्प लगाइए । लाओसको सीमानजिक रहेको यो क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।
खोजी अभियानको सातौं दिन फसेका व्यक्तिहरू बाँचेका छन् कि छैनन् भन्ने विषयमा केन्द्रित रहेको छ । गुफामा खानेकुरा र उज्यालो छैन ।
यो खोजी अभियानमा एक हजारभन्दा बढी उद्धारकर्मीहरू लागेका छन् । तीसभन्दा बढी अमेरिकी सैनिक पनि त्यहाँ पुगेका छन् । यसका साथै अस्ट्रेलियाली, चिनियाँ र जापानी विशेषज्ञहरू पनि खोजीमा संलग्न छन् ।
एजेन्सी